रोनाल्डोमार्फत विश्व फुटबलमा चिनिन चाहेको साउदी लिग

हिमाल प्रेस १६ पुष २०७९ १३:१७
12
SHARES
रोनाल्डोमार्फत विश्व फुटबलमा चिनिन चाहेको साउदी लिग

सन् २०२२ साउदी अरबी फुटबलका लागि सम्झनलायकको वर्ष बन्ने पक्का छ। यसको मुख्य कारण हो, कतार विश्वकपमा अर्जेन्टिनामाथिको अप्रत्याशित जित। आखिरमा विश्वकप विजेता बनेको अर्जेन्टिनालाई समूह चरणमा हराएपछि साउदीमा सार्वजनिक बिदा नै दिइयो।

फुटबलकै कारण साउदीमा एकपल्ट फेरि हर्ष छाएको छ। क्रिस्टियानो रोनाल्डो अल नासरसँग आबद्ध भएसँगै त्यहाँको घरेलु फुटबल उत्साहित बनेको छ। विश्व फुटबलले महान् खेलाडीहरुकोे सूचीमा राखेको रोनाल्डोको साउदी स्थान्तरणलाई विश्वभरका सञ्चारमाध्यमले प्राथमिकता दिएका छन्।

यो स्थान्तरण फगत साउदीलाई मात्र होइन पूरा विश्वलाई तरंगित बनाउने खालको छ। किनभने असाध्यै कमले मात्र सोचेका थिए, रोनाल्डो साँच्चै साउदी जाँदैछन् भनेर। आखिरमा रियल म्याड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्वस्टारलाई अल नासेरले मनाएरै छाड्यो, साउदीमा खेल्न। रोनाल्डोले यो क्लबसँग साढे दुई वर्षका लागि सम्झौता गरेका छन्। खेलाडीबाहेक उनी क्लब दूतको भूमिकामा पनि रहनेछन्।

३७ वर्षीय रोनाल्डोलाई अल नासेरले ‘फ्रिएजेन्ट’ का रुपमा अनुबन्ध गरेको हो। साउदी सञ्चारमाध्यमका अनुसार उनले साढे दुई वर्ष त्यहाँ रहँदा २० करोड युरो पाउनेछन्। यसमा अन्य प्रायोजन सम्झौता पनि जोडिएका छन्। गत नोभेम्बरमा युनाइटेड छाडेपछि रोनाल्डो क्लबविहीन थिए।

साउदीको छिमेकी कतारमा विश्वकप जारी रहँदा नै रोनाल्डो अल नासेरसँग आबद्ध हुने हल्ला चलेको थियो। त्यसबेला अल नासेरका प्रशिक्षक रुडी गार्सियालाई रोनाल्डोबारे सोधिएका थियो। ‘रोनाल्डो जस्ता खेलाडीलाई प्रशिक्षण गराउन जोसुकै प्रशिक्षक पनि लालयीत हुन्छन्। मलाई लाग्छ उनलाई खेलाउन कठिन छैन। किनभने उनी जस्ता खेलाडीलाई बुद्विमान हुन्छन्, खेल रणनीति सम्झाइरहनु पर्दैन,’ गार्सियाले भनेका थिए।

रोनाल्डोमाथि विश्वका ठूला सञ्चारमाध्यमको नजर रहन्छ। उनी आफैँ पनि सबैखाले सामाजिक सञ्जालमा प्रसिद्ध छन्। इन्स्टाग्राममा मात्र उनलाई करिब ५० भन्दा बढी करोडले पछ्याउँछन्। तीमध्ये १० प्रतिशतले मात्र रोनाल्डोले नासेरबाट खेलेको हेर्ने हो भने साउदी विश्वमै धेरै हेरिने लिगहरुको सूचीमा पर्नसक्‍छ। रोनाल्डोले सम्झौतामा हस्ताक्षर गर्ने बित्तिकै अल नासेर विश्वभरका फुटबल प्रेमीमाझ कुराकानीको विषय बनिसक्यो। यस अर्थमा साउदी लिग र नासेरको ‘मार्केटिङ’ का लागि रोनाल्डो सबैभन्दा बलियो पात्र हुन्।

साउदी प्रो लिगमा यसअघि विश्व फुटबलले चिनेको स्टारहरुले खेलेका छन्। अहिले पनि केही यस्ता खेलाडी छन् जोसँग युरोपका ठूला लिग खेलेको अनुभव छ। तर ती कसैको पनि रोनाल्डोसँग तुलना हुन सक्दैन।

साउदी वा खाडी क्षेत्रका लागि मात्र होइन, रोनाल्डो समग्र एसियाली फुटबलकै लागि सबैभन्दा ठूला आयात हुन्। पछिल्लो दशक चिनियाँ सुपर लिगका क्लबहरूले युरोप तथा दक्षिण अमेरिकाबाट ठूला स्टारहरू लगेका थिए। कार्लोस टेभेज, निकोलस एनेल्का, डिडियर ड्रोग्बा, ओस्कार आदिले चीनमा खेले। तर यी सबैभन्दा रोनाल्डो ठूला नाम हुन्।

युनाइटेड र रियलबाहेक युभेन्टसबाट समेत खेलेका रोनाल्डोले पाँच पटक च्याम्पियन्स लिग जितेका छन्। इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा र इटालियन सिरी ए च्याम्पियन बनेका छन्। पाँच पटक बालोन डोरबाट पुरस्कृत उनी युरो विजेता पनि हुन्।

यत्तिको प्रोफाइल भएको खेलाडीको उपस्थितिका कारण आफ्नो इज्जत बढ्ने साउदी लिगको सजिलो अनुमान छ। उसो त विश्वकपमा साउदी राष्ट्रिय टिमले गरेको प्रदर्शनले साउदी लिगमा प्रतिभाको कमी छैन भन्ने सन्देश दिइसकेको छ। सालेम डावसरी, सालेह अल शेहरी, मोहम्मद कान्नो यही सन्देशको हिस्सा हुन्।

अल नासेरको अग्रपंक्तिमा रोनाल्डोलाई भिन्सेन्ट आबुबकारले साथ दिनेछन्। आबुबकार तिनै हुन् जसले विश्वकपमा क्यामरुनलाई ब्राजिलमाथि जित दिलाउन निर्णायक गोल गरेका थिए। सन् २०१८ मा दक्षिण अमेरिकका उत्कृष्ट खेलाडी घोषित पिटी मार्टिनेज, आर्सनल तथा नापोलीका पूर्वगोलरक्षक डेभिड ओस्पिना, ब्राजिलका एन्डरसन टालिस्का र विश्वकप खेलेका साउदीका ६ खेलाडी अल नासेरमा रोनाल्डोका साथी हुनेछन्।

लामो समयदेखि लियोनल रोनाल्डोका प्रतिद्वन्द्वी रहेका लियोनल मेस्सी पनि करियरको उत्तरार्द्धमा छन्। हाल पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेलिरहेका मेस्सी जारी सिजनको अन्त्यमा अमेरिकी लिग एमएलएस जाने हल्ला छ। उनी एमएलएस जाने सम्भावनालाई सामान्य रुपमा लिइँदैछ। मेस्सीको त्यो स्थान्तरणलाई सामान्य मान्ने हो भने रोनाल्डो साउदी जानु पनि नौलो होइन।

किनभने साउदी एसियाकै सबैभन्दा बलियो लिग बन्ने बाटोमा अग्रसर छ। यसको प्रमाण हो, एसियाली च्याम्पियन्स लिगका पछिल्ला चार संस्करणमध्ये दुईमा साउदी क्लब च्याम्पियन बन्नु।

आफ्नो करियरमा सात सय भन्दा बढी गोल गरेका रोनाल्डोका लागि अल नासेर पाँचौँ क्लब हुनेछ। स्पोर्टिङ लिस्बनबाट व्यवसायिक करियर सुरु गरेका रोनाल्डोले अल नासेरमा लिग जिते त्यो उनका लागि चौथो फरक लिग उपाधि हुनेछ। र यो सम्भावना रोनाल्डोले देखेको हुनुपर्छ। किनभने १० खेल सकिँदा अल नासेर साउदी लिगको दोस्रो स्थानमा छ। जुन शीर्षस्थानको अल शबाबको भन्दा दुई अंक कम हो।

साउदी लिगको इतिहासमा दोस्रो सफल क्लब अल नासेरले रोनाल्डोलाई अनुबन्ध गरेर आफूलाई स्वतः विश्वभर चिनाएको छ। रोनाल्डो साउदीका मैदानमा उत्रनु, स्थानीय खेलाडीका लागि सिकाइको मौका पनि हो।

युरोपेली क्लब फुटबलमा विरासत भएका रोनाल्डोसामुन्ने नयाँ अवसर छ, एसियाली क्लब फुटबलमा छाप छाड्ने। यही आशा गरेर एसियाली फुटबल यतिबेला उत्साहित बनेको हो। उनी यसमा सफल हुन्छन् वा हुँदैनन्, विश्वको नजर उनीमाथि रहनेछ।

प्रकाशित: १६ पुष २०७९ १३:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − sixteen =