केपी ओली र माधव नेपाललाई भेट वार्ता गराउने तयारी

हिमाल प्रेस १४ पुष २०७९ १९:५३
96
SHARES
केपी ओली र माधव नेपाललाई भेट वार्ता गराउने तयारी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी पार्टी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ। दुई नेताबीचको छिटै भेटवार्ता गराउने तयारी भएको एमाले नेता महेश बस्नेतले जानकारी दिए। उनले हिमालप्रेससँग भने, ‘अध्यक्षज्यु (केपी ओली) र माधव कम्रेडबीच भेट गराएर कुरा गराउने तयारी भइरहेको छ। भोलि या पर्सी कुन दिन हुन्छ।’

दुई नेताबीच २०७८ वैशाखपछि भेटवार्ता भएको छैन। तर, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथ ग्रहण समारोहमा बोलचाल भने भएको थियो।

नेता बस्नेतले पार्टी एकता र सरकारमा सहभागी हुने विषयलाई लिएर अध्यक्षद्वयलाई भेट गराइएको जानकारी दिए। ‘पार्टी एकता तथा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराउने विषयमा दुई अध्यक्षलाई भेट गराउन लागिएको हो,’ बस्नेतले भने।

माधव नेपाललाई सरकारमा सहभागी गराउनेलगायतको विषयमा छलफल गर्न बस्नेतसहित एमाले उपाध्यक्ष विष्णु पौडेलले भेटेर छलफल गरेका थिए। त्यस्तै वामदेव गौतमले पनि नेपाललाई प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन सुझाव दिएका थिए।

कांग्रेस, एकीकृत समाजवादी पार्टीसहितको गठबन्धन फुटाएर प्रचण्डले एमालेसहितको नयाँ गठबन्धन बनाएर प्रधानमन्त्री भएपछि नेता नेपाल असन्तुष्ट छन्। कांग्रेसले संसद्को ठूलो दलको हैसियतमा प्रधानमन्त्री र राष्ट्रपति आफैँले पाउनुपर्ने अडान राखेपछि प्रचण्डले एमालेसँग मिलेर सरकार बनाएका हुन्। त्यसपछि गठबन्धन टुटेको थियो।

 

 

प्रकाशित: १४ पुष २०७९ १९:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =