मधेश प्रदेशका सांसदले शपथ नलिँदै सचिवालयले खोल्यो ल्यापटपको टेन्डर

हिमाल प्रेस ७ पुष २०७९ १७:३८
18
SHARES
मधेश प्रदेशका सांसदले शपथ नलिँदै सचिवालयले खोल्यो ल्यापटपको टेन्डर

काठमाडौँ– मधेश प्रदेशसभा सचिवालयले प्रदेशका नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने तयारी गरेको छ। मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनको १ महिनापछि सचिवालयले यस्तो तयारी गरेको हो।

प्रदेश प्रमुखबाट प्रदेशसभा बैठक आह्वानलगत्तै नवनिर्वाचित प्रदेशसभा सदस्यहरूलाई सपथ ग्रहण गराउने गरी तयारी गरिएको सचिवालयले जनाएको छ। तर सांसदहरूले शपथ ग्रहण नै नगरी प्रदेशसभा सचिवालयले भने सबै सांसदलाई ल्यापटप वितरण गर्न टेन्डर खोलेको छ।

सदस्यहरूले शपथ लिएको १ महिनापछि उनीहरूलाई ल्यापटप वितरणको तयारी रहेको र यसका लागि टेन्डर खोलिएको सचिवालयका सचिव रञ्जित यादवले बताए। सदस्यहरूले शपथ ग्रहण गरेसँगै प्रदेशसभाको लोगो र संविधानको १ थान किताब प्रदान गरिने पनि उनले जानकारी दिए।

ल्यापटप खरिदका लागि टेन्डर आह्वान गरिएको र त्यसका लागि खरिद प्रक्रिया पुरा भएपछि ल्यापटप वितरण गरिने यादवले बताए। ‘ल्यापटप वितरणकालागि टेन्डर आह्वान गरिएको छ,’ सचिव यादवले भने, ‘सम्पूर्ण प्रकृया पूरा गरेर ल्यापटप प्रदेशसभा सदस्यहरूलाई हस्तान्तरण गर्नेछौं।’

प्रदेशसभाले यसअघि पनि प्रत्येक प्रदेशसभा सदस्यहरूलाई ल्यापटप खरिद गरेर वितरण गरेको थियो। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै प्रदेशसभा सदस्यहरूलाई १ लाख १७ हजार ९७५ रुपैयाँ (भ्याटबाहेक) मूल्यको ल्यापटप किनेर वितरण गरिएको थियो। डेल कम्पनीको ३३९० मोडेलको ‘टु इन वान, स्क्रिन टच’ ल्यापटप खरिद गरिएको थियो। ३ वर्षको वारेन्टी शर्तनामा राखेर खरिद प्रक्रियाअनुसार नै ११८ वटा ल्यापटप र १ थान सर्भर किनिएको थियो।

उक्त ल्यापटप खरिदमा मात्रै प्रदेशसभाले १ करोड ५९ लाख रुपैयाँ खर्च गरेको थियो। दिइएको ल्यापटप फिर्ता लिँदा काम नलाग्ने अवस्थामा हुनसक्ने भएकाले फिर्ता नगर्ने गरी कानुनअनुसार वितरण गरिने सचिव यादवले बताए। सांसदहरूले शपथ नै नलिइकन उनीहरूलाई ल्यापटप वितरणको तयारी गरिँदा कतिपयले सचिवालयको यो कदमप्रति प्रश्नसमेत उठाएका छन्।

प्रकाशित: ७ पुष २०७९ १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 17 =