थप ६ सांसदले साथ दिएमा गगन यसैपटक प्रधानमन्त्री!

हिमाल प्रेस ५ पुष २०७९ २१:३६
856
SHARES
थप ६ सांसदले साथ दिएमा गगन यसैपटक प्रधानमन्त्री!

काठमाडौँ- डा. शेखर कोइराला र गगन थापाबीच सहमति जुटेसँगै नेपाली कांग्रेसको इतर समूहसँग सांसद संख्या ३९ पुग्ने लगभग निश्चित भएको छ। ८९ सदस्यीय कांग्रेस संसदीय दलमा संसदीय दलको नेता बन्न कम्तीमा ४५ मत ल्याउनुपर्छ।

संसदीय दलको नेताको निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसद मतदाता हुन्छन्। संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ। कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही प्रधानमन्त्री बन्ने अभ्यास छ। थापाले चुनाव जित्न थप ६ सांसदको साथ पाउनुपर्छ।

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्। यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला र प्रकाशमान सिंहले पनि संसदीय दलमा लड्ने बताउँदै आएका थिए। निर्वाचनमा सभापति देउवा र महामन्त्री थापाले मात्रै उम्मेदवारी दर्ता गरेका हुन्। दलको नेताका लागि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ।

सभापति देउवाको प्रस्तावकमा वरिष्ठ नेता पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन्। महामन्त्री थापाको प्रस्तावक डा. कोइराला छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्।

कांग्रेस इतर समूहलाई आशा गरिएका नेता प्रदीप पौडेलले पनि साथ दिएपछि देउवा र थापाबीच कडा टक्कर हुने देखिएको छ। समूहमा पौडेलको प्रवेश हुनु निकै अर्थपूर्ण छ। उनी तिनै नेता हुन्, जो थापाका विगत सहकर्मी तथा प्रतिस्पर्धी हुन्। थापाले अघिल्लो महाधिवेशनअघि छाडेको कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री लड्न पुगेका थिए पौडेल। देउवालाई साथ दिएमा आगामी मन्त्रिपरिषद्‌मा महत्त्वपूर्ण जिम्मेवारी पाउने लोभ उनलाई देखाइसकिएको थियो। पौडेलले त्यसलाई वास्ता नगरेर जोखिम उठाएका छन्।

समकालीन साथीसँगको प्रतिस्पर्धा र ईर्ष्याभन्दा माथि उठ्दै पौडेलले महत्त्वपूर्ण निर्णय लिएका छन्। झापामा चुनाव जितेलगत्तै संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने घोषणा गरेका महामन्त्री शर्माले पनि थापालाई साथ दिएका छन्।

सहमतिको अन्तर्यमा आलोपालो, लेनदेन जेसुकै भए पनि कांग्रेसको शीर्ष जिम्मेवारी ग्रहणमा महामन्त्री थापाको पाइला एउटा नयाँ यथार्थ बन्न गएको छ। यसका लागि शेखरले दिएको योगदान स्मरणीय रहेको नेताहरू बताउँछन्। शेखर-गगन समूहले मेहनत गरेर केही सांसदलाई जोड्न सके यसैपटक गगन प्रधानमन्त्री बन्ने प्रबल सम्भावना छ।

संसदीय दलको नेतामा महामन्त्री थापाको उम्मेदवारी परेपछि कांग्रेस वृत्तमा मात्रै होइन मुलुकको राजनीतिमै एक प्रकारको उत्साह सञ्चार भएको छ। तर कांग्रेसको आन्तरिक राजनीतिमा देउवा प्रभावशाली रहेकाले थापालाई चुनाव जित्न त्यति सजिलो छैन। नेतृत्वमा पुस्तान्तरण गर्ने हो भने आफूलाई जिताउनुपर्ने थापा बताउँछन्। नेता डा. शेखर कोइरालाले आफ्नो पुस्ताको कुरा बुझेको उनको भनाइ छ। ‘परिवर्तनको स्थायित्वका लागि एक भयौँ, हाम्रो पुस्ता सक्षम भइसक्यो’, महामन्त्री थापाले भने, ‘हाम्रो कुरा शेखरले बुझ्नुभयो, हाम्रो नेता शेखर हुनुभयो।’

यस्तै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का देउवाको विकल्प नभएको बताउँछन्। उनले भने, ‘गगन थापालाई र उहाँलाई समर्थन गर्नेहरूलाई मेरो अनुरोध देउवालाई सर्वसम्मत दलको नेता बनाउन लागौँ। स्थायी शान्तिका लागि सबै दललाई जोडेर जान सक्ने कला क्षमता देउवाबाहेकमा छैन।’ उपसभापति खड्का कांग्रेस संसदीय दलको चुनावमा देउवाका प्रस्तावकसमेत हुन्।

प्रकाशित: ५ पुष २०७९ २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =