चुनाव जित्ने रेखा कार्ड : सुकुमबासीलाई लालपुर्जा

विपिन पोखरेल २९ कार्तिक २०७९ ६:४०
चुनाव जित्ने रेखा कार्ड : सुकुमबासीलाई लालपुर्जा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गर्दै गर्दा रेखा थापालाई सायदै कसैले पत्याएका थिए। दुई ठूला दल कांग्रेस-एमालेको रजगज रहेको र ‘हेभिवेट’ नेताहरूसँग मोरङ-३ प्रतिस्पर्धामा उत्रिएकाले पनि उनलाई कमजोर ठान्नु स्वाभाविकै थियो।

तर यति बेला माहोल ठ्याक्कै उल्टो देखिएको छ। रेखालाई दुई ठूला दलका उम्मेदवारले चुनौतीका रूपमा हेर्न थालेका छन्।

उनलाई बलियो बनाउने प्रमुख र महत्त्वपूर्ण कार्ड हो- सुकुमबासीलाई लालपुर्जा। रेखाले सुकुमबासी बस्तीका मतदाताको आवाज बोकेर लालपुर्जा दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। सोही कारण मतदाताबीच रेखाको लोकप्रियता बढ्दो छ।

यसअघि जिताएका सांसदले आफ्नो प्रतिबद्धता पूरा नगरेकाले ठूला राजनीतिक दलप्रति मतदाताको वितृष्णा रहेको बेलबारी-३ का स्थानीय कर्ण चेम्जोङ बताउँछन्। ‘सोही कारण अहिले नयाँ अनुहार हेर्ने पक्षमा छौँ। जनता परिवर्तनका पक्षमा छन्,’ उनी भन्छन्।

एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको मोरङ-३ मा ४० हजारको हाराहारीमा सुकुमबासी मत छ। हरेक निर्वाचनमा उनीहरूकै मत निर्णायक हुँदै आएको छ। त्यसैले हरेक उम्मेदवारको नजर सुकुमबासी भोटमा हुने गरेको छ। कांग्रेस-एमालेलाई सुकुमबासी समस्या समाधान नगरेको ‘ट्याग’ लाग्ने गरेको छ। त्यसैले यसको फाइदा रेखाले उठाउन सक्ने आकलन गरिएको छ।

सुकुमबासीले पनि यसपटक आफ्नो माग सम्बोधन गर्ने उम्मेदवारलाई भोट दिने बताउँदै आएका छन्। एक हजार घरपरिवारले समस्या समाधानका लागि हस्ताक्षर संकलन अभियानसमेत चलाएका छन्।

रेखाले पनि सुकुमबासीलाई लालपुर्जा दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। यस क्षेत्रका कानेपोखरी, बेलबारी र पथरीशनिश्चरे नगरपालिकाका सुकुमबासी घरपरिवारले यसपटक रेखालाई मत हाल्ने बताइरहेका छन्। तर आफ्नो माग भने सम्बोधन हुनुपर्ने उनीहरूको माग छ। उनीहरूले दबाबस्वरूप आफ्नो हस्ताक्षर संसद् भवनमा पुर्‍याउन आग्रह रेखालाई हस्ताक्षर बुझाएका थिए।

‘नेता होइन सेवक हुँ’

रेखाले आफू आफू नेता बन्न नभई सेवक बन्न राजनीतिमा आएको बताइन्। ‘जनता र जनप्रतिनिधिबीचको खाडल भर्न आएकी हुँ,’ उनले घरदैलोमा पुगेर भन्ने गरेकी छन्, ‘५ वर्षमा मैले गरेको काम देखेर चित्त बुझे त्यसबेला मलाई नेता मान्नू, अहिले म नितान्त सेवक बन्न आएकी हुँ।’

उनले मतदातासँग छोरानातिलाई खाडी पठाएर कहिलेसम्म पार्टी बचाउने भन्दै प्रश्न पनि गरेकी छन्।

‘आफ्नो सन्तान बचाउन नसक्ने तपाईंको महान् पार्टी कहिलेसम्म जोगाइदिने? कसका लागि जोगाइदिने?,’ उनले भनिन्, ‘त्यसैले यसपटक बुझेर मत दिनुस्।’

रेखाले मोरङ-३ परिवर्तनका पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरिन्। महिला, नयाँ मतदाता र सुकुमबासी मतदाताले आफूलाई मत दिने उनको विश्वास छ। उनले पुरानो पुस्ताबाट वाक्क भएका जनतालाई विकल्प दिन युवापुस्ता मैदानमा आउन बाध्य भएको जिकिर पनि गरिन्।

ढकाल-शर्माको विवादित छवि, फाइदा रेखालाई

विगतका निर्वाचन हेर्ने हो भने मोरङ ३ वामपन्थी दलको प्रभाव छ। तर गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर तीन पटकसम्म मन्त्री भएका एमालेका भानुभक्त ढकालको विवादित छबीले मतदाता असन्तुष्ट छन्। अर्का उम्मेदवार कांग्रेसका सुनिल शर्मालाई ‘मेडिकल माफिया’ भन्ने जमात पनि बाक्लै छ।

सुन्दरहरैँचा-१० का स्थानीय रेवन्त अधिकारीले आफू २०४६ देखि एमालेको कार्यकर्ता रहे पनि यसपटक रेखा थापालाई मतदान गर्ने बताए।

यसरी अन्य पार्टीका सक्रिय कार्यकर्ता नेतृत्वबाट निराश हुँदै जाँदा रेखा झनै बलियो बन्दै गएको स्थानीयको बुझाइ छ।

एमालेको विवाद छवि भएका उम्मेदवार र गठबन्धनभित्र सम्भावित अन्तर्घातले रेखालाई सहयोग पुग्न सक्छ। तर यस क्षेत्रमा राप्रपाको संगठन कमजोर भएकाले उनलाई पार्टीभन्दा पनि व्यक्तिगत मतकै भर पर्नुपर्ने अवस्था छ।

सुरुवाती अवस्थामा कमजोर उम्मेदवारका रूपमा हेरिएकी रेखाको निरन्तर घरदैलो र चुनावी अभियानले उनलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ। रेखा यतिबेला आफ्नो क्षेत्रका विभिन्न स्थानमा पुग्ने र मतदातासँग दोहोरो संवाद एवं छलफल गर्नमा व्यस्त छिन्।

४१ वर्षीया रेखा नेपालको चलचित्र क्षेत्रबाट राजनीति क्षेत्रमा प्रवेश गरेर पहिलोपटक संसदीय निर्वाचनमा होमिएकी हुन्।

त्रिपक्षीय भिडन्त

मतदानको मिति नजिकिँदै जाँदा मोरङ-३ मा चुनावी माहोल रोचक बन्दै गएको छ। यहाँ एमाले, कांग्रेस र राप्रपाका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने निश्चितजस्तै भएको छ ।

शर्मा सत्ता गठबन्धनबाट उम्मेदवार हुनु र राप्रपाकी थापाले आफ्नो व्यक्तिगत मत बढाउन सक्ने भएकाले यहाँ त्रिपक्षीय रोचक भिडन्त हुने अनुमान छ ।

२०७४ मा कांग्रेसका शर्मा र एमालेका ढकालबीच प्रतिस्पर्धा भएको थियो। ढकालले ४२ हजार ४१३ मत ल्याएर शर्मालाई पराजित गरेका थिए। शर्माले भने ४० हजार ६ मत पाएका थिए।

यस क्षेत्रमा २०४८ सालमा एमालेका लालबाबु पण्डित विजयी भएका थिए। २०५१ मा भने एमालेका पण्डितलाई पराजित गर्दै कांग्रेसका बद्रीनारायण बस्नेत विजयी भएका थिए।

२०५६ मा कांग्रेसका गोपालमान सिंह राजवंशीलाई पराजित गर्दै एमालेका पण्डित विजयी भए। २०६४ मा नेकपा माओवादीका सावित्रीकुमार काफ्ले कांग्रेसका उम्मेदवार सत्यनारायण भगत थारुलाई पराजित गर्दै विजयी भएका थिए।

२०७० मा दिलीप खवास गच्छदारले एमालेका गुरुप्रसाद बराललाई पराजित गरेका थिए।

गत स्थानीय तहको निर्वाचन हेर्ने हो भने यस क्षेत्रमा पर्ने तीनवटै तहमा एमालेले जित निकालेको छ।

कानेपोखरी गाउँपालिका अध्यक्षमा एमाले राजमती इङ्गनाम विजयी भए। बेलबारी नगरपालिकाको प्रमुखमा पनि एमालेका दिलप्रसाद राई विजयी भए। त्यस्तै पथरी शनिश्चरे नगरपालिका प्रमुखमा एमालेका मोहनप्रसाद तोम्वापो र सुन्दरहरैँचा नगरपालिका प्रमुखमा एमालेका केदारप्रसाद गुरागाई विजयी भएका थिए।

यस क्षेत्रमा पथरी शनिश्चरे नगरपालिकाका ८ वटा वडा, कानेपोखरी गाउँपालिकाका ४, ५, ६ र ७ वडा, बेलबारी नगरपालिकाका ८ वटा वडा र सुन्दरहरैँचा नगरपालिकाको ६ वटा वडा पर्छन्।

प्रकाशित: २९ कार्तिक २०७९ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =