प्रदेश १ : को बन्ला मुख्यमन्त्री?

विवेक विवश रेग्मी १३ मंसिर २०७९ ७:३५
564
SHARES
प्रदेश १ : को बन्ला मुख्यमन्त्री?

इटहरी- प्रदेश १ मा प्रदेशसभाका ५६ निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ। अब प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने र कस्तो सरकार बन्छ भन्ने चर्चा सुरु हुन थालेको छ।
मतपरिणामअनुसार प्रदेशमा एमाले पहिलो पार्टी बनेको छ। कांग्रेस दोस्रो र माओवादी तेस्रो पार्टी बनेको छ। यस्तै नेकपा एकीकृत समाजवादी पार्टी चौथो बनेको छ।

अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ। जसअनुसार एमालेले प्रत्यक्षमा २४ सिट जितेको छ। यस्तै नेपाली कांग्रेसले प्रत्यक्षमा १५ सिट जितेको छ।

नेकपा माओवादी केन्द्रले ९ सिटमा जित निकालेको छ। नेकपा एकीकृत समाजवादी पार्टीले ३ स्थानमा जित्दा राप्रपाले २ स्थानमा जितेको छ। अब सुनसरीका ३ निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी छ। सुनसरीको ३ (ख) मा एमालेले अग्रता गरेको छ भने निर्वाचन क्षेत्र ४ को (क) र (ख) मा नेपाली कांग्रेसले अग्रता गरेको छ। तीन वटा निर्वाचन क्षेत्रको मतपरिणाम आउँन बाँकी रहँदा एमाले अग्रस्थानमा रहेको छ।

प्रदेश १ मा सरकार बन्न ४७ सिट चाहिन्छ। प्रत्यक्षमा नेपाली कांग्रेसको नेतृत्वमा माओवादी र नेकपा एसको जोड्दा प्रत्यक्षमा २७ सिट आएको छ। सुनसरीको क्षेत्र नं. ४ का दुवै क्षेत्रमा कांग्रेसले जितेको अवस्थामा भने २९ सिट हुन्छ।

एमालेले हाल अग्रता गरेको सुनसरी ३ (ख) जोड्दा र राप्रपाको जोड्दा २७ सिट हुन्छ। यद्यपि समानुपातिकको मत आउँदा र गठबन्धन गर्दा कांग्रेसको नेतृत्वमा सरकार बन्न सक्ने देखिएको छ। यसका लागि राप्रपा पनि निर्णायक हुनसक्छ।

कुन दलबाट को–को छन् संसदीय दलको नेताका आकांक्षी?

संसदीय दलको नेताका लागि पनि दलहरूबीच छलफल सुरु हुन थालेको छ। नेपाली कांग्रेसबाट संसदीय दलको नेता हुँदै मुख्यमन्त्रीका दाबेदार रहेका गुरुराज घिमिरे र राजीव कोइराला पराजित भएपछि अब अमृत अर्यालको सम्भावना बढेको छ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अर्याललाई मुख्यमन्त्री दिने सर्तमा प्रदेशमा टिकट दिइएको बताइन्छ। उनको विकल्पमा भने भीम पराजुली पनि आकांक्षी छन्। देउवा खेमाका अर्याल र सिटौला समूहका पराजुली केन्द्रमा एकै (देउवा समूह) भएकाले मिलेर अगाडि बढ्ने कांग्रेस नेताहरू बताउँछन्। कोइराला समूहबाट गुरुराज घिमिरे र राजीव कोइराला पराजित भएपछि केदार कार्कीको पनि सम्भावना छ। उनीहरूबीच सहमति हुँदा अब अर्याल नै मुख्य आकांक्षी हुन्।

नेकपा एमालेले भने हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सार्नेगरी संसदीय दलको नेता बनाउने निश्चितप्रायः छ। यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री भइसकेका कार्की ओलीको क्षेत्रबाट प्रदेशसभा सदस्यमा दोस्रोपटक विजयी भएका हुन्।

माओवादी केन्द्रले भने आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका इन्दबहादुर्र आङ्बो (मौसम) लाई अगाडि सार्ने संकेत देखिएको छ। उनी दोस्रोपटक प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। यसअघि पनि प्रदेश १ को माओबादी केन्द्रबाट संसदीय दलको नेता रहेका उनी यसपटक गठबन्धनको साथबाट मुख्यमन्त्री बन्ने रणनीतिमा छन्। उनी एमाले नेतृत्वमा शेरधन राई मुख्यमन्त्री बन्दा पनि आर्थिक मामिला मन्त्री नै थिए।

उनको विकल्पमा माओवादी अध्यक्ष प्रचण्डले चाहेको अवस्थामा भने उनका ज्वाइँ जीवन आचार्यलाई संसदीय दलको नेता बनाउनसक्ने माओवादी कार्यकर्ताहरू बताउँछन्। आचार्य पहिलोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी मोरङ ६ (क) बाट प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

नेकपा एकीकृत समाजवादीले भने हालका मुख्यमन्त्री राजेन्द्र राईलाई नै संसदीय दलको नेता बनाउने निश्चितजस्तै छ। उनी भोजपुर निर्वाचन क्षेत्रको (क) बाट प्रदेशसभामा दोस्रोपटक विजयी भएका हुन्।

प्रकाशित: १३ मंसिर २०७९ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =