प्रदेश १ को नाम ‘कोशी’ होइन ‘कोसी’

विवेक विवश रेग्मी १८ फागुन २०७९ ११:१८
406
SHARES
प्रदेश १ को नाम ‘कोशी’ होइन ‘कोसी’

इटहरी- प्रदेश १ को नामकरण ‘कोसी’ राखिएसँगै अहिले ‘कोशी’ कि ‘कोसी’ भन्ने बहसको विषय बनेको छ। प्रदेश सरकारले ‘कोशी’ प्रदेश भनेर नामकरण गरे पनि ‘कोसी’ को मोटो ‘श’ नहुने भाषाविद्हरू बताउँछन्।

प्रदेश सरकारले वैधता दिएको ‘कोशी’लाई नै मान्य गरिनुपर्ने कतिपयको विश्लेषण छ। यसै विषयमा अहिले सामाजिक सञ्जालमा बहस छेडिएको छ भने मानिसहरू अलमलिरहेका छन्।

भाषाविद् प्रा.डा. भीमप्रसाद खतिवडाले ‘कोसी’ शब्द तत्भव भएकाले पातलो ‘स’ लेखिनुपर्ने तर्क गरे। ‘कौशिकी संस्कृत शब्द हुन्जेल मोटो शब्द लेखिन्थ्यो,’ उनले भने, ‘तर, कोसी भएपछि मोटो श हुँदैन, कोसी शब्द संस्कृत होइन, कौशिक मात्रै संस्कृत हो।’

‘विगतमा जेजे नाम आएका छन्, ती सबै राम्रै थिए,’ उनले भने, ‘स र श मा झगडा गर्न आवश्यक त छैन, तर पातलो नै लेखिनुपर्छ।’ उनले नामले प्रभाव नपारे पनि शुद्ध लेखिनुपर्नेमा जोड दिए।

‘प्रदेश सरकारले मोटो ‘श’ लाई नै वैधता दियो नि ?’ भन्ने जिज्ञासामा खतिवडा भन्छन्, ‘मेरो नाम नागरिकतामा शुद्ध छैन, हरेक सरकारी कार्यालयमा भाषा सम्पादकको आवश्यकता छ।’ उनले सरकारी कार्यालयले नाम नै शुद्ध नलेख्ने भएका कारण मोटो ‘श’ लेखिएको हुन सक्ने र खास गरी पातलो ‘स’ लेखिनुपर्ने बताए। उनले भने, ‘सरकारले जबर्जस्ती गरेर हुँदैन होला।’

भाषाविद् दिनेश पौडेल पनि पातलो ‘स’ नै शुद्ध भएको बताउँछन्। मोटो ‘श’ पुरानो रहेकाले नेपाली शब्दकोशअनुसार पातलो ‘स’ हुनुपर्ने उनको भनाइ छ। ‘२०३४ सालदेखि पातलो लेख्ने भन्ने नियम बनाइएको छ,’ पौडेलले भने, ‘धेरै ठाउँमा मोटो श लेखिन्छ, राजनीति गर्नेहरूले नियम मान्नुपर्दैन भन्ने गलत बुझाइ छ।’ व्याकरणअनुसार पातलो ‘स’ लेखिनुपर्ने उनको तर्क छ।

इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा नेपाली विषयका प्राध्यापक मदनराज बरालले अहिले कोसीको विषयमा बहस भइरहँदा मोटो ‘श’ नहुने र पातलो ‘स’ नै हुने तर्क गरे।

‘अहिले धेरैजनाले नाम नै गल्ती लेखेका छन्, मैले यस विषयमा फोरममा कुरा पनि उठाएको छु,’ बरालले भने, ‘पहिले मोटो श लेखिए पनि प्रज्ञा प्रतिष्ठानले जारी गरेको शब्दकोशअनुसार पातलो स हुन्छ।’

प्रदेश सरकारका कर्मचारीहरू नियममा ‘अपडेट’ नभएको उनले बताए। ‘एउटा कर्मचारीले प्रज्ञा प्रतिष्ठानले जारी गरेको शब्दकोशमा चुनौती दिन मिल्दैन, उनीहरूलाई एकपटक जागिर खाइसकेपछि सकियो भन्ने बुझाइ छ,’ उनले भने, ‘यदि प्रज्ञा प्रतिष्ठानले गलत नै छापेको रहेछ भने त्यसलाई सच्याउने प्रक्रिया पनि छ, तर अहिले आधिकारिक कोसी नै हो कोशी होइन।’

उनले नामका लागि प्रदेश सरकारले करोडौँ खर्च गरे पनि त्यही नाम अशुद्ध लेख्नु गलत भएको बताए। ‘नामका लागि करोडौँ खर्च भएको छ, त्यही नाम गलत लेख्नु त भएन नि,’ बरालले भने, ‘यो प्रदेशभरिका नेपाली पढाउनेहरूको फोरम छ, त्यहाँ मैले यस विषयमा कुरा पनि उठाएको छु।’

यस विषयमा आफूले पेसागत बहस गरिरहेको र जुनसुकै ठाउँमा पनि बहस गर्न तयार रहेको बताए।

प्रदेश १ को नाम ‘कोसी’ राखिएपछि यस्तो छ कवि, लेखकहरूको प्रतिक्रिया

प्रकाशित: १८ फागुन २०७९ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =