प्रदेश १ को नाम ‘कोसी’ राखिएपछि यस्तो छ कवि, लेखकहरूको प्रतिक्रिया

विवेक विवश रेग्मी १७ फागुन २०७९ २२:०९
678
SHARES
प्रदेश १ को नाम ‘कोसी’ राखिएपछि यस्तो छ कवि, लेखकहरूको प्रतिक्रिया

इटहरी– प्रदेश १ को नाम ‘कोसी’ प्रदेश भएको छ। प्रदेशले नामकरण पाएसँगै यहाँका कवि, लेखक तथा बुद्विजीवीहरूले हिमालप्रेससँग कुरा गर्दै आफ्नो प्रतिक्रिया दिएका छन्।

सुनसरीको इटहरी निवासी प्रसिद्व कवि मनु मञ्जिलले कोसी प्रदेश आफैँमा सुन्दर नाम आएको बताए।

‘कोसी प्रदेश आफैँमा सुन्दर नाम आएको छ, त्यसमा धेरै विवाद आवश्यक छैन,’ उनले भने, ‘कोसी सँग-सँगै किरात पनि समेटिनुपपर्‍थ्यो, यसो हुँदा सबैको साझा नाम हुन्थ्यो।’

कोसी प्रदेश आफैँमा महत्त्वपूर्ण रहेको उनले सुनाए। ‘निरन्तर गतिशील प्रकृति भएको कारण र निरन्तर आयामसँग जोडिनु यसको विशेषता हो,’ उनले भने, ‘पूर्वाञ्चलका पहाडहरू हरिया र सुन्दर लहलह देखिन्छन्, यसमा कोसीको प्रवाह जोडिएको पाइन्छ।’

उनले नाममा विमति हुनुपर्ने खासै कारण नरहे पनि अहिले पहिचानको मुद्वा उठिरहँदा कहीँ, कतै किरात जोडिनुपर्ने तर्क गरे। ‘कहीँ कतै कोसी सँग-सँगै किरात सभ्यतालाई पनि जोडिदिएर नाम राखेको भए पूर्वी क्षेत्रका सारा मानिसहरूको भावनाको कदर हुन्थ्यो,’ मञ्जिल भन्छन्, ‘यदि नाम राख्न समस्या भएको भए साहित्यिक र भाषाका पारखीलाई रच्नका लागि जिम्मा दिएको भए उपयुक्त हुन्थ्यो।’

यसअघि तीनपटक मुख्यमन्त्री फेरिदाँसम्म माओवादीले पहिचानको आधारमा नामकरणको मुद्वा उठाएको र अहिले एमालेले प्रस्ताव र कांग्रेसले समर्थन गर्दा त्यसैमा साथ दिनुले राजनीतिक स्वार्थ बाझिएको उनले बताए।

सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँदै आएका राजेश विद्रोहीले पहिचानको आधारमा नामकरण भएको भए सबैलाई स्वीकार्य हुने प्रतिक्रिया दिए।

‘०६२/६३ को पृष्ठभूमिमा भएको आन्दोलनले संघीयताको कुरा जोड्यो,’ लेखकसमेत रहेका विद्रोहीले भने, ‘ऐतिहासिक कुरासँग जोडिएको नाम राखेको भए हुनेथियो, कुनै न कुनै आधारमा सबै समुदायलाई जोडिनुपपर्‍थ्यो।’

उनले पहिचान नदी अथवा भूगोललाई आवश्यकता नपर्ने तर्क गरे। ‘नामै मात्र पहिचानको आधारमा राख्दा के हुन्थ्यो र,’ उनले भने, ‘नीति, नियम र कानुनका कुरा नाममा जोडिदैँनथ्यो, नाम राख्दा कसैले समान अनुभूत गपर्‍थ्यो भने त्यसै गर्नुपपर्‍थ्यो।’

उनले भूगोलको आधारमा नभइ पहिचानको आधारमा नभएर नाम राखिनुपर्ने तर्क गरे।

इलाम निवासी कवि सुन्दर कुरूपले पहिचानवादी दलहरूले अडान लिन नसक्नु दुःखद रहेको बताए।

‘कोसी नामसँग मेरो विमति नै छ, संघीयता आइसकेपछि पुरानो जुन व्यवस्था छ त्यसलाई परिवर्तन गरेर जानुपर्छ,’ कुरूप भन्छन्, ‘ऐतिहासिक पृष्ठभूमिको आधारमा किरात-लिम्बूवान हुनुपपर्‍थ्यो, पहिचानवादी दलहरुबीच नै मनमुटाव भयो, उनीहरूबीच सहमति हुन नसक्नु दुःखद हो।’

सत्तामा रहेका दलहरूले बहुमतको उपयोग गरे पनि संसदमा नभएका दल र अन्य बुद्धिजीवीहरूसँगको छलफलले नामकरण टुंगिएको भए उपयुक्त हुने उनको तर्क छ।

‘किरात एउटा सभ्यता हो, ऐतिहासिक पृष्ठभूमी बसोबासको आधारमा लिम्बूवान हुनुपपर्‍थ्यो,’ उनले भने, ‘प्रदेश २ मधेश प्रदेश भयो, प्रदेश १ चैँ किन किरात-लिम्बूवान भएन ? यसमा पहिचानवादी दलहरूको दोष छ।’

विगतमा पहिचानको मुद्वा उठाएको नेकपा माओवादी केन्द्रले कोसी नाममै मत जायर गर्नु खेदपूर्ण रहेको उनी बताउँछन्। ‘अहिलेको समाचार हेर्दा माओवादीबाटै कोसीमै समर्थन भएको सुनियो, यो खेदपूर्ण देखियो,’ उनले भने, ‘आफूमा रहेको बहुमत जबरजस्ती लाद्नु हुन्थेन, सबैलाई बोलाएर, समेटेर जानुपपर्‍थ्यो।’

उनले अहिले नेकपा एमालेले नेतृत्व गरेर नामकरण गर्दा आउँदै गरेको राष्ट्रपतिको निर्वाचनमा सघाउन पुग्नसक्नेसमेत बताए। उनले भने, ‘नामकरणका कारण एमालेले राष्ट्रपति आफ्नो पोल्टामा आउनसक्छ भन्ने पनि हुनसक्छ।’

विराटनगर निवासी लेखक सीमा आभासले नाम जे आए पनि सभ्यतासँग जोडिएर आएको तर्क गरिन्। ‘नाम जे आए पनि हामीले आगामी काम र विकासका लागि चासो र चिन्ता राख्नुपर्छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘यसअघि गण्डकी, बागमती सभ्यतासँग जोडिएकै कारण नामकरण गरियो, कोसी नदी पनि सभ्यतासँग जोडिएको छ।’

उनले पहिचानका हिसाबमा नामकरणको मुद्वा उठ्नु सकारात्मक नै रहेको बताइन्। ‘एक हिसाबले पहिचानको कुरा उठ्नु ठिक हो, किरात सभ्यता पनि कोसीसँग जोडिएको छ,’ उनले भनिन्, ‘खुवालुङ पनि कोसी र किरात सभ्यतासँग जोडिएको छ। यसैले पनि कोसी प्रदेश ठिक हो जस्तो लाग्छ।’ नाममा के छ र के छैन भन्ने कुरा महत्त्वपूर्ण नहुने उनले बताइन्।

‘हामीले योबीचमा थुप्रै काम गर्नुपर्ने थियो, त्यसलाई बेवास्ता गरेर नाममै अल्झिएका छौँ,’ आभासले भनिन्, ‘विगतका ६ वर्ष नाममै अल्झिएर बित्यो, अब संघ, प्रदेश र स्थानीय तहले प्राथमिकता दिएर जनताका पक्षमा काम गर्न आवश्यक छ, यसका लागि हामीले पनि सचेत गराउनुपर्छ।’

प्रकाशित: १७ फागुन २०७९ २२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =