छैटौँ पटक संसद् छिर्ने झलनाथको प्रयास विफल

हिमाल प्रेस ११ मंसिर २०७९ १७:०९
52
SHARES
छैटौँ पटक संसद् छिर्ने झलनाथको प्रयास विफल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रतिनिधिसभा सदस्यमा पराजित भएका छन्। इलाम-१ मा उनलाई एमालेका महेश बस्नेतले हराएका हुन्। २०४८ पछिका पाँचवटा निर्वाचन जितेका खनाललाई यसपटक आफ्नै पूर्वकार्यकर्ताले असफल बनाए।

खनाल २०७४ मा इलाम १ बाट ३६ हजार ८ सय ५ मत ल्याएर निर्वाचित भएका थिए। उनले २०४८, २०५१, २०६४ र २०७० मा पनि इलाम १ बाटै संसद्‌मा प्रतिनिधित्व गरेका थिए । ०५६ को निर्वाचनमा खनाल कांग्रेसका बेनुपराज प्रसाईंसँग पराजित भएका थिए।

एमालेबाट चुनाव लड्दा पाँच जित र एक हार बेहोरेका खनाललाई एकीकृत समाजवादीका तर्फबाट कलम चिह्न लिएर मैदानमा जाँदा फलदायी रहेन। ७३ वर्षीय खनाल कांग्रेसकै समर्थनमा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार थिए।

खनालले एमाले निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यक्ति हुन्। विद्यार्थी जीवनदेखि भूमिगत कम्युनिस्ट राजनीतिमा लागेका खनाल तत्कालीन नेपाल कम्युनिस्ट पार्टी मालेको पोलिटब्युरो सदस्य हुँदै महासचिवसम्म भएका थिए।

०३४ सालमा नेकपा मालेको स्थापनामा भूमिका निर्वाह गरेका खनाल २०४७ सालसम्म मालेको महासचिव थिए। ०४७ मा एमाले गठन भएपछि स्थायी समिति सदस्य, पोलिटब्युरो र स्थायी कमिटी सदस्य भएका थिए। २०६४ मा केही समय महासचिव बनेका खनाल २०६५ मा आठौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित भएका थिए। २०४८ सालपछि पटकपटक मन्त्री भएका उनी २०६७ माघमा माओवादी समर्थनमा प्रधानमन्त्री निर्वाचित भएका थिए। पार्टीहरूको खिचातानीका कारण उनी नेतृत्वकाे सरकार नौ महिनामा ढलेको थियो।

२०७७ एमाले विभाजन हुँदा माधवकुमार नेपालतर्फ लागेका उनी एकीकृत समाजवादीका सम्मानित नेता हुन्। आफ्नै पूर्व पार्टी एमाले उम्मेदवारसँग पराजित भएपछि उनको संसद् यात्रा रोकिएको छ।

प्रकाशित: ११ मंसिर २०७९ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =