ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने संकल्प छ : गगन थापा

हिमाल प्रेस ४ मंसिर २०७९ १०:०२
4
SHARES
ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने संकल्प छ : गगन थापा

काठमाडौँ- कांग्रेस महामन्त्री गगनकुमार थापाले आफू सांसद भएको भोलिपल्ट संसदीय दलको निर्वाचनको तयारीमा जुट्ने बताएका छन्। उनले आइतबार बिहान काठमाडौँको मैतीदेवीमा सञ्चारकर्मीसँगको कुराकानीमा उक्त कुरा बताएका हुन्।

उनले भने, ‘संसदीय दलको निर्वाचन जितेर ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने मेरो संकल्प छ। त्यसका लागि सांसद भएकै भोलिपल्ट संसदीय दलको नेताको चुनाव लड्ने हो।’ उनले आफ्नो त्यो संकल्प पूरा गर्न आफू लडेको निर्वाचन क्षेत्रका मतदाताले आधार तयार पारिदिने विश्वास व्यक्त गरे।

थापाले भने, ‘आज नेपालको संसदीय व्यवस्थाभित्रको ड्राइभिङ सिटमा बसेर मुलुकलाई कसरी हाँक्ने भन्ने कुराको निर्धारण हुँदैछ। यसबारे मतदाता सचेत छन्। मूलधारको राजनीतिक दलभित्र परिवर्तन आवश्यक छ भन्ने कुरा मतदाताले राम्ररी बुझेका छन्।’

उनले आफू सांसदहरूको हुलमा नहराउने पनि बताए। ‘काठमाडौँ क्षेत्र नं. ४ को परिणामले मुख्य नेतृत्वको रुपान्तरण, पुस्तान्तरण गर्ने कुरा यहाँका मतदाताले राम्रोसँग बुझ्नुभएको छ,’ उनले भने, ‘यो मेरो परिणामसँग जोडिएको छ, त्यसैले सांसदहरूको हुलमा हराउने होइन, नेतृत्व गर्ने हो।’

उनले संविधानमा नागरिकसँग गरिएको वाचाहरू पनि पूरा गर्ने बताए। यदि त्यसो गर्न नसकिए ठूलो दुर्घटनातर्फ जाने पनि उनको भनाइ छ।

थापाले आवधिक निर्वाचनको चक्र नटुटोस् भन्ने कामना गरेका छन्। उनले भने, ‘संविधान निर्माणपछि दोस्रो आवधिक निर्वाचन राम्रोसँग गर्दैछौँ। यो हामी सबैका लागि सुखद क्षण हो।’ निर्वाचनपछि आउने सरकारले दिनरात नभनी काम गरेमा कुनै अप्ठ्यारो नहुने बताए। उनले गठबन्धनले सानदार ढंगले चुनाव जित्ने पनि बताए। थापाले संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन गर्नका लागि मूल धारको दलभित्र परिवर्तन हुनुपर्नेमा जोड दिए।

प्रकाशित: ४ मंसिर २०७९ १०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − twelve =