मतदाता सुरक्षामा निर्वाचन आयोगले देखेको मुख्य तीन चुनौती

हिमाल प्रेस २ मंसिर २०७९ ९:५९
मतदाता सुरक्षामा निर्वाचन आयोगले देखेको मुख्य तीन चुनौती

काठमाडौँ- प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा सबै तयारी पूरा भइसकेको जानकारी दिएका हुन्। थपलियाले मतदान प्रक्रियामा केही चुनौती रहेको स्पष्ट पारेका छन्।

उनले सबैभन्दा ठूलो चुनौती मतदाता सुरक्षाको विषय भएको बताए। उनले ग्रामीण भेगका कतिपय ठाउँमा मतदाता आफैँले मतदान गर्ने चलन नरहेको बताए। उनले भने, ‘अझै पनि कतिपय ठाउँका मतदाता आफैँले मतदान गर्दैनन्।’

प्रमुख निर्वाचन आयुक्त थपलियाका अनुसार पतिपत्नी सँगै मतदान केन्द्रमा जाने तर पतिले तिमीले बिगार्छेउ म आफैँ हालिदिन्छु भनेर पत्नीलाई मताधिकारबाट वञ्चित गर्ने एउटा चुनौती छ। त्यस्तै अशक्तबाहेकका बाबुआमाको मतदान छोराछोरीले गरिँदिँदा पनि कतिपय मतदाता मताधिकारबाट वञ्चित हुने अवस्था छ।

थपलियाले राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारका प्रतिनिधि ठेकेदार बनेर अर्काको नाममा भोट हाल्ने प्रवृत्ति तेस्रो चुनौतीका रूपमा रहेको बताए।

उनले निर्वाचन पर्यवेक्षकहरूलाई यस्ता चुनौतीबारे अनुमगन गर्न अनुरोध गरेका छन्। यस्तै कुनै मतदान केन्द्रमा शतप्रतिशत मतदान भएमा पनि चासो लिनुपर्ने बताए। यसभित्र कुरुपता घुसेको हुन सक्ने उनले बताए। ‘त्यही खाले पद्धति काठमाडौँमा किन लागू गर्न नसक्ने? कुनै गाउँमा शतप्रतिशत मतदाता उपस्थित हुने काठमाडौँमा किन नहुने? राम्रा अभ्यासलाई सबैतिर प्रचार गर्नुपर्छ। तर  मान्छे गइरहनुपर्दैन र एउटाले मात्र सबै मतदान गरिदिन्छ भने गम्भीर विषय हो।’ उनले यस्तो हुन नदिने आयोगले कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको जानकारी दिए।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा एकजनाले जित्दा १३/१४ जनाले हार्नुपर्ने अवस्था रहेको बताए। उम्मेदवार धेरै भएकाले यस्तो हुने उनको भनाइ छ। उनले भने, ‘उम्मेदवारको संख्या हेर्दा जित्ने थोरै छन् भने हार्ने धेरै हुनेछन्।’ उनले मतगणनास्थलमै जित्ने मान्छेलाई हार्नेले माला लगाइदिएर बधाई दिन सक्यो भने त्यो निर्वाचन राम्रो हुने बताए।

कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाई वा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पुर्‍याउने काम गरेमा त्यस्तो कार्य रोक्न वा कानुनबमोजिम कारबाही गर्न विशेष निर्देशन दिएको जानकारी उनले दिए।

प्रमुख आयुक्त थपलियाले भने, ‘निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्‍याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।’ यस्तै निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’को व्यवस्था गरिएको जानकारी उनले दिए।

थपलियाले भने, ‘निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकताअनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई दृष्टिगत गरी पर्याप्त मात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ।’

यस्तै मतदान सुरु हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात् शुक्रबार १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्रीवितरण तथा सेवन गर्नेगराउने कार्यलाई पूर्ण रूपले निषेध गरिएको छ।

प्रकाशित: २ मंसिर २०७९ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =