धनुषामा एक ट्रक मदिरा बरामद

हिमाल प्रेस १ मंसिर २०७९ ५:४४
धनुषामा एक ट्रक मदिरा बरामद

धनुषा– धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ। आसन्न प्रदेश तथा प्रतिनिधि सदस्य निर्वाचनलाई लक्षित गरी सरकारले जारी गरेको आचारसंहिताविपरीत ल्याइँदै गरेको मदिरा प्रहरीले बरामद गरेको हो।

मदिरा निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए। जनकपुरधाम उपमहानगरपालिका-२२ बसविट्टीबाट ना. ६ ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी एक हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले गाडीलाई रोकेर जाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। मदिरा र ट्रकसहित मकवानपुरको मनहरि गाउँपालिका-३ बस्ने चालक ३४ वर्षीया निर्मलकुमार रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मादक पदार्थसहितको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ।यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका-४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट चार कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ। गाडी चालक मुखियापट्टी मुसहर्निया-४ बस्ने ३० वर्षीय साजन यादवलाई प्रहरीले पक्राउ गरेको छ।

बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ। धनुषा जिल्लामा गत साता शनिबारदेखि नै मदिराको बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरिएको छ।

प्रकाशित: १ मंसिर २०७९ ५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 20 =