काठमाडौँ- नेपाल विद्युत प्राधिकरणमा आन्दोलनरत कर्मचारीले कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्। विभिन्न माग राख्दै आन्दोलनमा रहेका कर्मचारीले आइतबार सवा ११ बजेदेखि सवा १२ बजेसम्म कार्यकारी निर्देशक घिसिङलाई कार्यालय प्रवेशमा रोक लगाएका हुन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनमा छन्। यसअघि प्राधिकरण प्रशासन तथा व्यवस्थापनलाई आफ्ना मागबारे ध्यानाकर्षण गराउँदा पनि मागबारे सुनुवाई नभएको आन्दोलनरत पक्षको भनाइ छ।


मागबारे सुनुवाई नभएका कारण आइतबार, सोमबार र मंगलबार ३ दिन प्राधिकरणका कार्यकारी निर्देशक, उप-कार्यकारी निर्देशकलगायत प्रादेशिक कार्यालय प्रमुखलाई कार्यकक्षमा प्रवेश गर्न नदिने निर्णय गरिएको कर्मचारी संघहरूले गरेका छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

