काठमाडौँ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले जेनजी आन्दोलनपछि बनेको करिब दुईतिहाइको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरे पनि जनतामा विश्वास र आशा जगाउन सरकार असफल भएको बताएका हुन्।
उनले आम जनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशाको वातावरण बढ्दै गएको उल्लेख गरे।
गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उनले बताए। उनले अहिले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्प्णी गरे।
घिसिङले उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न विशेष विकास मोडल अघि सारेको उल्लेख गरे।
यो मोडलको मुख्य आधार ’हरित क्रान्ति’ भएको भन्दै उनले जलविद्युत, कृषि र पर्यटन जस्ता स्रोतहरूको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखेको बताए।



