काठमाडौँ- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङले चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीको उद्धार कार्य भइरहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत घिसिङले आफू उद्धार कार्यमा सहभागी भएको जानकारी दिँदै चिलिमे जलविद्युत कम्पनीको पूर्वप्रबन्ध निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव, समन्वय र सहजीकरण गरिरहेको बताएका हुन्।
उनका अनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो मात्रामा जम्मा भएको लेदो, बालुवा र ढुंगा हटाउने काम भइरहेको छ। उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको उनले बताए।
घिसिङका अनुसार सुरुङ साँघुरिएको स्थानबाट करिब १२० मिटरभित्र आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेको भन्दै उनले सुरुङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा बलियो भएको बताएका छन्।
‘अब विद्युतगृह पुग्न करिब १०० मिटर बाँकी रहेको जानकारी छ,’ उनले भनेका छन्, ‘प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले हामी सबैमा नयाँ आशा जगाएको छ।’
उनका अनुसार स्याफ्रुवेसीँतर्फबाट स्केभेटरमार्फत सुरुङसम्म बाटो बनाउने काम पनि भइरहेको छ। आजसम्ममा स्केभेटर सुरुङसम्म पुग्ने सम्भावना रहेको र स्केभेटर तथा लोडर पुगेपछि उद्धार कार्यमा थप तीव्रता आउने उनले बताएका छन्।
उद्धार कार्य सफल हुने विश्वासका साथ सम्पूर्ण टोली उच्च मनोबलका साथ अहोरात्र खटिरहेको घिसिङले बताएका छन्।
उनले कठिन र संवेदनशील अवस्थामा उद्धार कार्यमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन, चिलिमे जलविद्युत कम्पनीका कर्मचारी तथा प्रत्यक्ष परोक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
सुरुङभित्र रहेका सबै व्यक्तिलाई सकुशल उद्धार गर्न सकियोस् भन्दै उनले उद्धारमा खटिएका सबैको अथक प्रयास सफल होस् भन्ने कामना गरेका छन्।


