नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिबाटै लोकतन्त्रलाई कमजोर पार्ने काम भएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौँमा एमालेको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसमा आयोजित कार्यक्रममा ओलीले तत्कालीन सरकारको सिफारिसमा असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरेर राष्ट्रपतिले लोकतन्त्रलाई कमजोर पार्ने काम गरेको बताएका हुन्।
उनले प्रधानन्यायाधीश भइसकेका प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले डराएर संसद विघटन गरेको आरोप लगाए। अध्यक्ष ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध अदालतमा मुद्दा दर्ता गर्दा फैसला नगरी चूप लागेर बसेको बताए।
उक्त मुद्दामा जस्तो फैसला आए पनि एमालेलाई स्वीकार्य हुने उनको भनाइ छ। उनले लोकतान्त्रिक संस्थाहरु संवैधानिक तवरले चल्न नसकेको उल्लेख गरे। अहिलेको सरकार बन्ने सिलसिला असंवैधानिक, अलोकतान्त्रिक र आतंकपूर्ण आगजनी तथा तोडफोडबाट सुरु भएको उनले दाबी गरे।
अध्यक्ष ओलीले देशभित्र कुनै पनि प्रकारका बेथिति हुन नदिन सचेत गराउने, बेथिति रोक्ने र रोकेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।
उनले रहर पूरा गर्न नभई विकट परिस्थितिमा तात्कालीक र दीर्घकालीन प्रतिवाद गर्ने हिसाबले नेसनल भोलेन्टियर फोर्स बनाइएको स्पष्ट पारे। अध्यक्ष ओलीले विकास निर्माण र उद्यमशीलतामा नमुना तथा दृष्टान्त बनेर अघि बढ्न र जनता वा देशलाई अप्ठ्यारो पर्दा उभिन भोलेन्टियर फोर्स लाई निर्देशन दिए।



