आँटिलो अफगानिस्तानसँगको हारले पीडामा पाकिस्तान

हिमाल प्रेस ७ कार्तिक २०८० ६:२७
14
SHARES
आँटिलो अफगानिस्तानसँगको हारले पीडामा पाकिस्तान

काठमाडौँ- विश्वकप क्रिकेटमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएपछि पाकिस्तानका कप्तान बाबर आजम स्तब्ध देखिए। छिमेकी टिमसँग नसोचेको पराजय भोग्दा पाकिस्तानी खेलाडीले कस्तो महसुस गरेका छन्, आजमको शारीरिक हाउभाउले प्रस्ट पार्थ्यो।  ‘हामीलाई पीडा भएको छ,’ सोमबार रातिको पराजयपछि आजमको प्रतिक्रिया थियो।

पाकिस्तानमाथिको जित अफगानिस्तानका लागि ऐतिहासिक हो। किनभने अफगानिस्तानले एकदिवसीय क्रिकेटमा पाकिस्तानलाई यसअघि हराउनै सकेको थिएन। नवौँ प्रयासमा अफगानिस्तान सफल भएको हो।

भारतीय सहर चेन्नाईको एमए चिदम्बरम् रंगशालामा टस जितेको पाकिस्तानले २८२ रन बनाएको थियो। अफगानिस्तानले दुई विकेटको क्षतिमा दुई ओभर बाँकी छँदा लक्ष्य प्राप्त गर्‍यो।

अफगानिस्तानको जितमा इब्राहिम जादारानले ११३ बलमा ८७ रन बनाए। अर्का ओपनरको नाममा ६५ रन रह्यो। यी दुईले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए।

अफगानिस्तानका अरू ब्याटरको पनि प्रदर्शन तारिफयोग्य थियो। रहमत साहले ८४ बल सामना गरेर अविजित ७७ रन जोडे। कप्तान हस्मतुल्लाह साहिदी पनि ४८ रनमा अनटआउट रहे।

‘पूरा टिमलाई नै पीडा भएको छ। हामी सबै निराश छौँ। मेरा साथीहरूलाई मेरो सन्देश यही हो, यो हारबाट पाठ सिकौँ र आगामी खेलहरुमा जित हासिल गरौँ,’ आजमको भनाइ थियो।

पाकिस्तानले पाँच खेलमा तीनमा हार व्यहोरिसकेको छ। अब आउँदो खेलमा पाकिस्तानले दक्षिण अफ्रिकाको सामना गर्ने तालिका छ।

‘ब्याटिङमा हाम्रो कमजोरी थिएन। तर बलिङ र फिल्डिङमा हामी नराम्रोसँग चुक्यौँ,’ आजमले थपे। पाकिस्तानी बलरले सुरुको १६ ओभरमा मात्र १७ बाउन्ड्री दिएका थिए।

आजमले भनेझैँ पाकिस्तानले ठिकठाक ब्याटिङ गरेको थियो। लयमा देखिएका उनी आफैँले ९५ बलमा ७४ रन बनाएका थिए। ओपनर अब्दुल्लाह साफिकले पनि अर्धशतक (५८ रन) बनाएपछि पाकिस्तान सात विकेटको क्षतिमा २८२ रनको स्थितिमा पुगेको थियो।

पाकिस्तानविरुद्ध अफगानिस्तानले चार स्पिनर खेलाएको थियो। यो निर्णय आखिरमा सही साबित भयो। ‘अफगानिस्तानका स्पिनर स्तरीय छन्। यसकारण हामीले ४० औँ ओभरसम्म पनि उनीहरूलाई विकेट नदिने योजना बनाएका थियौँ। त्यसपछि अन्तिम १० ओभरमा आक्रामक हुने रणनीति थियो। अन्तिममा हामीले १०–१५ रन कम बनायौँ,’ आजमले भने।

अफगानिस्तानका लागि नुर अमहद सर्वाधिक सफल बलर ठहरिए। १८ वर्षीय यी स्पिनरले ४९ रन दिएर तीन विकेट हात पारेका थिए। पहिलोपटक विश्वकप खेलिरहेका उनले पाकिस्तानका अब्दुल सफिक, आजम र मोहम्मद रिज्वानजस्ता बलिया ब्याटरको विकेट लिँदा अनुभवी रसिद खान र मुजिब उर रहमान भने विकेटविहीन बनेका थिए।

अफगानिस्तानसँग हारेपछि पाकिस्तान पाँचौँ स्थानमा छ। अफगानिस्तान भने छैटौँ स्थानमा छ। पाकिस्तानले अब चार खेल खेल्न बाँकी छ। यस्तोमा आजमले सेमिफाइनल पुग्ने सपना त्यागेका छैनन्।

‘ब्याटिङ, बलिङ र फिल्डिङ, हरेक पक्षमा अपेक्षाअनुसारको बलियो खेल देखाए हामी सेमिफाइनल पुग्नसक्छौँ,’ आजमको भनाइ थियो।

आजमले नासिम साहजस्ता बलर नहुँदा पनि आफ्नो टिमलाई अप्ठ्यारो परिरहेको बताएका छन्। काँधको चोटका कारण उनी हाल मैदानबाहिर छन्। नासिमको अनुपस्थिति खड्किएको र यही बेला अरू बलरले खराब खेलिरहेको आजमको भनाइ छ।

‘उनी हाम्रा लागि महत्त्वपूर्ण बलर रहँदै आएका थिए। उनी नहुँदा फरक परेको छ। हाम्रा अरू बलरले पनि क्षमताअनुसारको खेल देखाउन सकिरहेका छैनन्,’ आजमले भने, ‘अभ्यासमा उनीहरू सही बलिङ गर्छन्। तर खेलमा उनीहरूको बलिङ कमजोर देखिन्छ। सायद उनीहरु आवश्यकभन्दा बढी प्रयास गर्न खोज्छन्। आफूमाथि नचाहिने दबाब सिर्जना गरिरहेका छन्। यो मानसिकताबाट मुक्त हुनुपर्छ।’

उता अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रोट स्वाभाविक रूपमा प्रसन्न देखिए। आफ्नो टिमको तारिफ गर्दै उनले भने, ‘अफगानिस्तानका युवा खेलाडीले कहाँसम्मको यात्रा तय गर्छन्, अहिले अनुमान गर्न सकिँदैन। उनीहरूसँग असीमित प्रतिभा छ।’

पाकिस्तानी कप्तान आजमको विकेट लिएका नुर मात्र होइन २१ वर्षीय ओपनर इब्राहिम जारदान र रहमनुल्लाह गुर्बाजले पनि गजबको खेल देखाए। यी दुईले अफगानिस्तानको जितको आधार सिर्जना गरेका थिए।

‘दुई ओपनरको जति तारिफ गरे पनि कम हुन्छ। विश्वस्तरीय बलरविरुद्ध सजिलोसँग खेल्छन्। उनीहरूको भविष्यबारे अनुमान गर्न मुस्किल छ। दुवैको खेल शैली फरकफरक छ। उनीहरूलाई हामीले भन्ने यही हो, मेहनत गर्न नछाड,’ ट्रोटले भने।

गुर्बाज जारदानभन्दा मात्र १४ दिनले जेठा हुन्। उनले अफगानिस्तानका लागि ३१ एकदिवसीय खेलिसकेका छन्। ती खेलमा उनले पाँच शतक र चार अर्धशतक प्रहार गरेका छन्। इंग्ल्यान्डमाथिको जितमा उनले ८० रन बनाएका थिए।

उता जारदानको नाममा चार शतक र पाँच अर्धशतक छ। उनले २४ एकदिवसीय खेलिसकेका छन्।

‘प्रशिक्षकका रूपमा मैले गरेको एउटा निर्णय सही साबित भएको छ। त्यो हो, इब्राहिम (जारदान) र गुर्बाजलाई सँगै खेलाउने। उनीहरू दबाब महसुस नगरी जस्तो लक्ष्य पनि भेट्ने प्रयास गर्छन्,’ ट्रोटको भनाइ थियो।

दुई ओपनरको जस्तै तारिफ नुरको पनि भइरहेको छ। उसो त उनी विश्व क्रिकेटका लागि नयाँ नाम होइनन्। १५ वर्षको उमेरमै उनी बिग बास लिगको मेलबर्न रेनेगेड्ससँग आबद्ध भएका थिए। सोमबारको खेल उनका लागि अफगानिस्तानको जर्सीमा चौथो एकदिवसीय हो। उनले जम्मा एक –टी-२० अन्तर्राष्ट्रिय मात्र खेल्न पाएका छन्।

‘उनी कति प्रतिभाशाली छन् भनेर मैले भनिरहनु पर्दैन। दर्शकले उनलाई खेलमा देख्छन्, हामी त उनलाई प्रत्येक दिन अभ्यासमा देख्छौँ। उनको बलिङ क्षमताले हामी सबैलाई अचम्मित बनाउँछ,’ ट्रोट भन्छन्, ‘उनी जति स्पिन गर्छन्, युवा खेलाडीका लागि सामान्य होइन। उनले यही रफ्तारमा स्पिन गरिरहे भविष्य असाध्यै उज्जवल छ।’

अफगानिस्तानले अब अर्को खेलमा पूर्वच्याम्पियन श्रीलंकाको सामना गर्ने तालिका छ। सन् १९९६ मा विश्वकप जितेको श्रीलंका यसपालि खराब लयमा छ। श्रीलंकाले एक खेल मात्र जितेको छ।

यस्तोमा अफगानिस्तान श्रीलंकामाथिको खेलमा हाबी हुनसक्छ। जितिहाले त्यसलाई स्तब्धपूर्ण नतिजा भन्न नमिल्ने ट्रोटको तर्क छ। ‘त्यो शब्द मेरा खेलाडीका लागि ठिक होइन,’ ट्रोटको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =