महासंघ अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

हिमाल प्रेस १८ असोज २०८० १२:०३ | Thursday, October 5, 2023
महासंघ अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता, भिसा र व्यापार सम्बन्धका बारेमा छलफल

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि इन्डोनेसियाका राजदूत हेरु हार्तान्तो सुबोलोबीच भेटवार्ता भएको छ। महासंघको सचिवालयमा बुधबार भएको भेटका अवसरमा दुई देशबीच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको थियो।

उक्त अवसरमा अध्यक्ष ढकालले इन्डोनेसिया सरकारले नेपाली पर्यटकलाई दिएको अनअराइभल भिसाको व्यवस्था पुनस्र्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका छन्। इन्डोनेसियाले कोभिड महामारीदेखि नेपालीलाई दिँदै आएको अनअराइभल भिसा रोकेको छ।

नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूतसमेत रहेका ढकालले नेपाल र इन्डोनेसियाबीच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणका लागि राजदूतलाई आग्रहसमेत गरे।

भेटका क्रममा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसका लागि इन्डोनेसिया सरकारसँग कुराकानी गर्ने बताए। उनले नेपाली पर्यटकलाई दिइएको अनअराइभल भिसाको सुविधा पुर्नस्थापनाका लागि आफूले पहल गर्नेसमेत बताए। नेपाली व्यवसायीले इन्डोनेसियामा धेरै वस्तु निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताए।

नेपाल र इन्डोनेशियाबीचको व्यापारिक सम्बन्ध बढ्दो क्रममा छ। नेपालले कार्पेट, चिया टेक्टटाइलजस्ता वस्तु इन्डोनेसियामा निर्यात गर्छ। इन्डोनेसियाबाट पाल्म आइल, मसिनरी र विद्युतीय सामग्री आयात हुन्छ।

प्रकाशित: १८ असोज २०८० १२:०३ | Thursday, October 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast