भूपि काव्य पुरस्कार उषा शेरचनलाई प्रदान गरिने

हिमाल प्रेस २६ मंसिर २०७९ १८:५२ | Monday, December 12, 2022
भूपि काव्य पुरस्कार उषा शेरचनलाई प्रदान गरिने

पोखरा– यस वर्षको भूपी काव्य पुरस्कार कवि एवम् साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ। कवि भूपि शेरचनको स्मृतिमा परिवार सदस्यद्वारा स्थापित तथा थकाली सेवा समिति पोखराद्वारा सञ्चालित ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कार उनलाई प्रदान गर्ने निर्णय गरिएको पुरस्कार छनोट समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए।

छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति पदमराज ढकाल, थकाली सेवा समिति अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन थिए। नेपाली साहित्य क्षेत्रमा योगदान दिने स्रष्टालाई प्रत्येक २ वर्षमा सो पुरस्कार प्रदान गरिँदै आएको छ।

आगामी १० पुसमा ८९ औं भूपी जयन्तीका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिने बताइएको छ। यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ उक्त पुरस्कारबाट पुरस्कृत भइसकेका छन्।

उषा शेरचनका ‘नजन्मेका आस्थाहरू’ कविता संग्रह (२०४८), अक्षरहरूका शिविरबाट मुक्तक संग्रह (२०५६), ‘सर्वकालीन पीडा र जागृतिका शंखघोष’ कविता संग्रह २०६३, ‘तेस्रो रंग’ कथा संग्रह (२०७०), ‘आँधी’ उपन्यास (२०७६)सहित दर्जन बढी कृतिहरू प्रकाशित छन्। उनी यसअघि दर्जनौं पुरस्कारबाट पुरस्कृत भइसकेकी छन्।

कवि भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५) लाई नेपाली कवितामा विशिष्ट मानिन्छ। भूपीले सो कृतिबाट २०२६ सालको साझा पुरस्कारसमेत पाएका थिए।

प्रकाशित: २६ मंसिर २०७९ १८:५२ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast