काठमाडौँ- अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरूको संगठन अनररी कन्सुलर कर्प्स नेपाल (एचसीसीएन) को १६औँ साधारणसभा एवं चार्टर डे सम्पन्न भएको छ। उपराष्ट्रपति रामसाहयप्रसाद यादवको प्रमुख आतिथ्य र परराष्ट्र मन्त्री एनपी साउदको विशिष्ट अतिथ्यमा शनिबार सभा सम्पन्न भएको हो।
सभाले चेक रिपब्लिकका अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई नयाँ डिनमा नियुक्त गरेको छ। कार्यक्रमा उपराष्ट्रपति रामसाहयप्रसाद यादवले नेपालको द्वौत्य सम्बन्ध रहेका तर आवासीय राजदूतावास नभएका ५९ देशमा अनररी कन्सुलर कर्प्सले पुर्याएको योगदानप्रति कृतज्ञता व्यक्त गरे। ‘आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको नेपालका लागि सबै राष्ट्रसँग सुमधुर सम्बन्ध बनाई राख्नु आजको आवश्यकता हो,’ उनले भने, ‘यसमा एचसीसीएनको सहयोग रहने अपेक्षा गरेका छौँ।’
नेपालमा लगानीका सम्भावना भएका क्षेत्रहरू धेरै रहेकाले विदेशी लगानी आकर्षित गर्न समन्वय आवश्यक रहेको बताए। त्यसैगरी परराष्ट्र मन्त्री एनपी साउदले एचसीसीएनका सदस्य मुलुकहरूलाई लगानीको राम्रो गन्तव्य भएको सन्देश दिन आग्रह गरे।
कार्यक्रममा एचसीसीएनका निवर्तमान डिन दिनेश श्रेष्ठले भियना कन्सभेनसनअन्तर्गत रहेर एचसीसीएन र यसका सदस्यहरूले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका बताए। ‘प्रविधि हस्तान्तरण, व्यापार व्यवसाय विस्तार तथा दिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन हामीले भूमिका निर्वाह गरिरहेका छौँ,’ उनले भने।
कार्यक्रममा उपराष्ट्रपति यादवले एचसीसीएनका पूर्वडिनहरूलाई सम्मान गरेका कथिए। १६औँ साधारणसभाले नयाँ डिनका रूपमा अनररी कन्सुल जनरल विष्णुकुमार अग्रवाललाई चयन गरेको छ।
सन् २०१० देखि चेक रिपब्लिकको अनररी कन्सुल रहेका अग्रवाललाई सन् २०१५ मा अनररी कन्सुल जनरलमा पदोन्नति गरिएको थियो। भर्खरै नेपाल उद्योग परिसंघको अध्यक्षको कार्यकाल सम्पन्न गरेका अग्रवाल एमएडब्लु ग्रूप अफ कम्पनीका प्रबन्ध निर्देशक हुन्।