इटहरी- इटहरी-धरान सडकखण्डस्थित कोशी राजमार्गमा पर्ने चारकोसे जंगलको सेउती पुलमा शुक्रबार गोली हानेर एक युवकको हत्या गरिएको छ।
धरानबाट इटहरीतर्फ आउँदै गरेका युवक र युवती केही समय जंगल छेउमा बसिरहेका थिए। सोही क्रममा साढे ५ बजेतिर युवकलाई गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले पुष्टि गरे। उनका अनुसार हत्या हुनेमा विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरी हुन्।
‘सेउती पुलको बीचबाट जंगलपट्टि मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा तीन जनाको समूहमा आएका युवाहरूमध्ये एकजनाले गोली प्रहार गरेको खुलेको छ,’ ढकालले भने, ‘ती व्यक्तिको हुलिया पनि पाइसकेका छौँ, प्रकृति पहिचान भइसकेको छ, खोजी कार्य तीव्र बनाएका छौँ ।’
गोली लागेर गम्भीर घाइते भएका चौधरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा साँझ साढे ६ बजेतिर मृत्यु भएको ढकालले बताए । उनका अनुसार मृतक चौधरीसँगै रहेकी विराटनगरकै सुमना खत्रीको अवस्था सामान्य छ।
रोहित र सुमना प्रेमीप्रेमिका भएको बताइएको छ। उनीहरू धनकुटामा घुमेर घर फर्कँदै गर्दा सेउती पुलमा मोटरसाइकल रोकेर बसेका थिए।
गोली लागेर गम्भीर घाइते बनेपछि रोहितलाई उनै सुमनाले एम्बुलेन्समा राखेर हस्पिटलसम्म ल्याएकी थिइन्।