भजनी- कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुगे। उनको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुंगा चलाएरै यहाँसम्म आइपुग्याे। जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुंगाबाट त कहिले काठे पुलबाट नदी तरेका भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्ने भन्दै खुसी भएका छन्। ‘कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ,’ भिक्कुले भने, ‘हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनुनपर्ने भयो।’
विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयाैँले अकालमै ज्यान गुमाएको उनले सुनाए। प्रत्येक बर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो। यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पनि पुल बनेकोमा भने स्थानीय निकै खुसी छन्।
बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो। सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्दा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको थियाे। ‘पुल बनेर कान्द्राको डुंगा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुंगा विस्थापित भयो, स्थानीय प्रकाश चौधरीले भने, ‘निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो।’
स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुने अपेक्षा गर्छिन्। ‘भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो,’ उनले भनिन्, ‘यसका लागि प्रत्येक पटक ४० रुपैयाँ खर्च गर्नुपर्थ्यो। अब पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो।’
भजनी नगरपालिका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको बताए। ‘पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्याउन निकै सहज भएको छ। यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ,’ उनले भने, ‘पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ। यो भजनीको विकासमा ठूलो फड्को हो।’
एकसय मिटर लामो यो पुल निर्माणका लागि विसं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो। तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी बिरुवा/लामा/शेर्पा साल्पा जेभीले बताएकाे छ।
कम्पनीले तीन करोड ४५ लाख २० हजार रुपैयाँ लागतमा पुल निर्माणको जिम्मा पाएको थियो। ‘पुलबाट आवागमन सुरु भइसकेको छ, बाँकी गर्नुपर्ने कामका लागि कम्पनीलाई भनिरहेका छौँ,’ हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले भने, ‘पुल निर्माणको ९५ प्रतिशत काम सकिएको र पुलमा रेलिङ र आसपासमा ग्राभेल बिछ्याउने काम बाँकी छ।’ रासस

                                             
                                             
                                             
                                             
                                             
                                             

