फाइल तस्बिर। 
                                            चितवन– चितवनका ७ पालिकामा नै गाई भैंसीमा लाग्ने लम्पीस्किन रोगको संक्रमण फैलिएको छ। सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो।
ती पालिकामा ६ हजार ७ सय ९९ गाई भैंसीमा यो रोगको संक्रमण देखिएको छ।
जिल्लामा ९३ हजार १ सय ८२ गाई र ७२ हजार ९७८ भैंसी पालिएको तथ्यांक छ। तीमध्ये छ हजार ५ सय ३९ गाई र दुई सय ६० भैंसीमा यो रोगको संक्रमण देखिएको छ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हालसम्म यस रोगका कारण १ सय ७६ गाई मरेका छन्।
सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम माडी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यले जानकारी दिए।
इच्छाकामना गाउँपालिकामा ६२, भरतपुर महानगरपालिकामा ३४, राप्ती नगरपालिकामा ४०, रत्ननगर नगरपालिकामा १४, कालिका नगरपालिकामा १०, खैरहनी नगरपालिकामा १० र माडी नगरपालिकामा छ गाई मरेको उनले बताए।
लम्पीस्किनका कारण मरेका गाईमध्ये भरतपुर महानगरमा ५ गाईको बिमा गरिएको छ। जिल्लाका ३ पालिकामा पालिएका १५ हजार ९० गाई भैंसीमा रोगविरुद्धको खोप दिइएको छ।
भरतपुरमा ३ हजार ७ सय ९०, रत्ननगरमा ७ हजार र राप्तीमा ४ हजार ३ सय गाई भैंसीलाई खोप लगाइएको छ। स्थानीय पालिका र सहकारीमार्फत खोप खरिद गरी लगाइएको हो।
विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका ५ हजार गाई भैंसीलाई औषधि वितरण गरिएको छ। केन्द्रमा बजेट अभावका कारण स्थानीय पालिका, सहकारी र कृषक आफैँले खरिद गरी खोप लगाउने गरेका छन्।
गर्मीयाममा लामखुट्टे, झिंगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए।
गाई भैंसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि ५ सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्याल काँढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ। यो रोग विशेष गरी संक्रमित लामखुट्टे, झिंगालगायतको टोकाइबाट लाग्ने गर्दछ।
संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवम् पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने, विश्वसनीय स्रोतबाट गाई भैंसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यको भनाइ छ।

                                             
                                             
                                             
                                             
                                             
                                             

