भरतपुर महानगर १३ बालमैत्री वडा घोषणा

हिमाल प्रेस २ असार २०८० १३:५५
भरतपुर महानगर १३ बालमैत्री वडा घोषणा

चितवन– भरतपुर महानगरपालिका-१३ लाई बालमैत्री तथा बालश्रम मुक्त वडा घोषणा गरिएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले शुक्रबार एक कार्यक्रमका बीच वडालाई बालमैत्री घोषणा गरेकी हुन्।

वडाध्यक्ष प्रकाश दवाडीलाई मेयर दाहालले घोषणा पत्र हस्तान्तरण गर्दै बालमैत्री घोषणा गरेकी हुन्।

बालमैत्री बन्नका लागि आवश्यक ५१ सूचक पुरा गरेसँगै यस वडालाई घोषाणा गरिएको हो। ०७६ सालमा भरतपुर महानगरको वडा नम्बर १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो। वडा नम्बर १३ महानगरको बालमैत्री घोषणा गर्ने दोस्रो वडा बनेको छ।

भरतपुरलाई बालमैत्री नगर बनाउन ०६८ सालदेखि नै अभियान थालिएको हो। आर्थिक वर्ष ०८३/०८४ मा महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ। बालबालिका अगाडि ल्याउने उद्देश्यले राज्यले दिगो विकास लक्ष्यमा समेत बुँदा राखेको छ।

मेयर दाहालले सिंगो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको बताइन्।

भरतपुरलाई बालमैत्री बनाउन सडक मानवमुक्त पहिलो महानगर, पिटुसिटु, अटिजम विद्यालय, आधा दर्जन विद्यालयमा स्रोत कक्षालगायतको कार्य गरी बालमैत्रीतर्फ उन्मुख हुँदै गएको छ।

बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने उपमेयर चित्रसेन अधिकारीले बताए।

बालमैत्री वडा घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने परम्परा रहेको जनाउँदै उनले यसका लागि वडावासी सबै जिम्मेवार बन्नुपर्ने बताए। बालमैत्री घोषणासँगै थप चुनौती रहेको उनको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बालमैत्री घोषणा गरेर यसलाई कायम राख्न सबै पक्ष क्रियाशील हुनुपर्ने बताए। कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र राना, विभिन्न वडाध्यक्ष, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायत उपस्थित थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast