अब उपत्यकाका सबै पालिकामा प्रधानाध्यापक नियुक्ति खुला प्रतिस्पर्धाबाट

हिमाल प्रेस ९ जेठ २०८० १४:१०
598
SHARES
अब उपत्यकाका सबै पालिकामा प्रधानाध्यापक नियुक्ति खुला प्रतिस्पर्धाबाट

काठमाडौँ- काठमाडौँ उपत्यकाभित्र सञ्चालन भइरहेका सरकारी विद्यालयमा प्रधानाध्यापक नियुक्ति खुला प्रतिस्पर्धाका आधारमा हुने भएको छ। उपत्यकाभित्रका नगर प्रमुखहरुको संस्था भ्याली मेयर्स फोरमको बैठकले यस्तो निर्णय गरेको हो।

फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले राजनीतिक आस्थाभन्दा माथि उठेर सक्षम व्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिने निर्णय गरिएको जानकारी दिए। सामुदायिक विद्यालयमा निष्पक्ष रूपमा प्रधानाध्यापक छनोटका लागि सूर्यविनायक नगरपालिकाले अवलम्बन गरेको अभ्यासलाई अनुकरण गरिएको महर्जनको भनाइ छ। सूर्यविनायकमा खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्ति प्रक्रिया सुरु भइसकेको छ।

निर्णयअनुसार नगरपालिकाले स्थायी शिक्षकमध्येबाट प्रधानाध्यापक नियुक्ति गर्ने गरी कार्यविधि बनाउनेछन्। पालिकाले खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गर्ने र आवेदन दिएका मध्येबाट छनोट गरिएका शिक्षकलाई पाँच वर्षका लागि नियुक्ति गर्ने प्रक्रिया नमुनाका रुपमा केही नगरपालिकाले यसअघि सुरु गरिसकेका छन्। उपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका सहित १६ वटा नगरपालिका छन्।

उपत्यकाभित्रका सवै स्थानीय तहले आगामी आवका लागि स्मार्ट स्ट्रिट लाइट तथा हाई मास लाइट जडान प्रयोजनका लागि आवश्यकताअनुसार बजेट विनियोजन गर्ने निर्णय भएको छ। यसका लागि सबै पालिकाले विनियोजित गरेको बजेटलाई परिचालन गर्ने गरी एकमुस्ट रुपमा खरिद प्रक्रिया अगाडि बढाउने भएका छन्।

यस प्रयोजनका लागि नेपाल विद्युत् प्राधिकरणका विज्ञ समूहसँग छलफल गरिने भएको छ। साथै ललितपुर महानगरपालिकाले लागू गरेको सडक सञ्जालमा आधारित घर ब्लक नम्बरसम्बन्धी परियोजनालाई अन्य पालिकामा समेत अवलम्बन गरिने भएको छ।

सम्पदा क्षेत्रका संरचना पुनर्निर्माण गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को बाह्रौँ संशोधनले स्थापित गरेको खरिद प्रक्रियाको सट्टा भूकम्पपछि पुनर्निर्माणका क्रममा सरकारले जारी गरेको कार्यविधिको संरचनागत प्रबन्धबमोजिमको पृथक कानुनी व्यवस्था पुनस् तर्जुमा एवम् लागू गरिदिने प्रयोजनका लागि नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − seven =