पाथीभरामा यसपालि फुलेन गुराँस

हिमाल प्रेस १० वैशाख २०८० १०:०७ | Sunday, April 23, 2023
पाथीभरामा यसपालि फुलेन गुराँस

फुङ्लिङ- चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो। यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुन सक्छ। गुराँसका बोट अहिले ठिङ्ग्रिंगै छन्। चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस वर्ष फुलेको देखिएन।

पाथीभरा जाने पदमार्ग दायाँबायाँ गुराँसको झाङ। तर गुराँस हो कि होइन भने ठम्याउन निकै मुस्किल छ। किनकि अन्य बोटभन्दा त्यति भिन्नता देखिँदैन। पाथीभरा मन्दिरमा प्रत्येक दिन पूजापाठ गर्न जाने आउने तीर्थयात्री एकैछिन उभिएर यसो हेर्ने गर्दछन्। अनि भन्ने गर्दछन् ‘गुराँस किन फुलेन?’

विगतका दिनमा पाथिभरा क्षेत्रमा फुलेको गुराँसको रस चुस्न झुम्मिएका हुन्थे अनेक थरिका चरा अनि मौरी। ती चराको आवाजले संगीतमय यात्रा हुने गर्दथ्यो। गुराँसका रस चुस्ने अनेक थरिका चराचुरुंगी र आफ्नो आहारा बटुल्न आउने ती मौरी अहिले कहाँ केको रस चुस्तै होलान्?

विगतको समयमा पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै पदमार्गको दायाँबायाँ विभिन्न प्रकारका लालीगुराँसका फूलले सजिएको हुन्थ्यो। निकै लामो समय गाडीभित्र गुम्सिएर उकुसमुकुस यात्रापछि गाडीबाट ओर्लिनेबित्तिकै मनमोहक राष्ट्रिय फूल लालीगुराँसको स्वागतले तीर्थयात्रीमा एक प्रकारको ऊर्जा प्राप्त हुने गर्थ्यो।

पाथीभरा क्षेत्रका वनपाखा रंगीन बन्थ्यो। लालीगुराँस फुलेपछि पाथीभरा दर्शनका लागि आउने तीर्थयात्री सबैको मन लोभ्याउने गर्दर्थ्यो। ढकमक्क फुलेको लालीगुराँस देख्दा सबैको मन लोभ्याउने र आनन्द लिन तथा पाथीभरा देवीको दर्शन गर्ने अवसर मिल्थ्यो। तर यस वर्ष भने गुराँस फुल्न सकेन। गुराँसका रुख छन् तर अरू रुखभन्दा त्यति भिन्नता छैन।

सिदिङवा गाउँपालिका–४, साब्लाखुकी फूलमाया लिम्बू ढकमक्क गुराँस फुल्दाको आनन्द लिन र पाथीभराको दर्शन गर्न जाने सोच निकै अगाडिदेखि नै थियो। गत बुधबार भने लिम्बूको साइत जुर्‍यो। बिहान ४ बजे नै ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा क्षेत्र प्रस्थान गरिन्।

दुई घन्टा यातायातको साधनमार्फत काफ्लेपाटी पुगिन्। काफ्लेपाटीबाट पाँच किलोमिटर उकालो पदमार्गको प्रयोग गरेर पाथीभरा मन्दिर पग्नु सकिन्छ। पदमार्गको दायाँ–बायाँ फुलेको गुराँसको आनन्द लिँदै कहीँकतै गुराँसको थुंगासँग तस्बिर लिने सोच बनाउँदै रंगीन सोच बनाएर उकालो लागिन्। तर लिम्बूका ती रंगीन सोच लामो समय टिक्न सकेन। न त कतै गुराँस फुलेको देख्न पाइयो न त चराचुरुंगीको आवाज नै सुन्न पाइनन्। अनि भनिन्, ‘गुराँस फुलेको हेर्न पाइन्छ भने आइयो तर गुराँस फुलेन छ।’

मधेशमा गुराँस पाइँदैन। मधेशमा जन्मेहुर्केकालाई गुराँस हेर्नका लागि पहाड उक्लिनै पर्दछ। गुराँस हेर्न र पाथीभराका दर्शन गर्न साप्तरीका शिव यादवले भने ढकमक्क गुराँस फुलेको हेर्ने इच्छा पूरा नभएको बताए। प्राकृतिक सुन्दरतासँगै विभिन्न प्रजातिका गुराँस फुल्ने याममा गुराँस फुल्न नसकेको स्थानीय इन्द्रनारायण भट्टराईले बताए।

विगतका वर्षमा पाथीभराको दर्शनसँगै गुराँस फुलेको मनोरम दृश्यावलोकन गर्न ठूलो संख्यामा तीर्थयात्री आउने गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

नेपालमा पाइने ३२ प्रजातिका गुराँसमध्ये पाथीभरा क्षेत्रमा मात्र २६ प्रजातिका पाइने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विश्वमा दुर्लभ वन्यजन्तु रेडपान्डाको बासस्थान पाथीभरा क्षेत्रमा पर्दछ। कालो भालु, मृग, घोरल साथै नेपालमा मात्र पाइने काँडेभ्याकुर, कालिज, नेपालको राष्ट्रिय पक्षी डाँफेलगायत वन्यजन्तु तथा पक्षी पाइने गर्दछन्।

पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा पाथीभरा क्षेत्रमा गुराँस उद्यान क्षेत्रको घोषणसमेत गरिएकाले गुराँसको संरक्षण गर्ने काम भइरहेको छ। यस क्षेत्रमा सुनपाती, रातो चिमाल, चियाफुले गुराँस, नीलो चिमाल, पहेँलो चिमाल, जुँगे चिमाल, सानो चिमाल, लहरे चिमाल जातका गुराँस पाइन्छन्। यस्तै कोर्लिङ, चिमाल, ठेकी झार, प्रजातिका गुराँस पनि पाइन्छन्। यस क्षेत्रमा पात्ले कोर्लिङ, सेतो चिमाल, गुलाबी कोर्लिङजस्ता प्रजातिसमेत रहेका छन्।

स्थानीय व्यवसायी गुराँस फुलेको समयमा पर्यटन व्यवसाय फस्टाउने आशामाा हुन्छन्। हिमाली र पहाडी भेगमा ढकमक्क गुराँस फुलेको हुन्छ। फागुनदेखि जेठसम्म गुराँस फुल्छ। गुराँसलाई विम्ब बनाएर धेरै गीत, गजल र कविता लेखिएका छन्। यतिबेला सामाजिक सञ्जालमा गुराँसछेउ उभिएको, हत्केलामा गुराँस राखिएको, कानमा सिउरिएका तस्बिर बढी लोकप्रिय हुन्छन्। यतिबेला गुराँस बगैँचामा रमाउने र पदयात्रा गर्नेहरू धेरै भेटिन्छन्। तस्बिरमा देखेकाहरू प्रत्यक्षरूपमा गुराँस देख्दा धेरै रमाउँछन्।

हरेक वर्ष देवतालाई गुराँस चढाइन्छ। यसका पात, बोक्रा र फूल मानिस तथा घरपालुवा जनावरका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। अचार, सर्वत र रक्सी बनाउन पनि यो झनै उपयोगी हुन्छ। तर यस वर्ष भने विगतमा फुलेझैँ गुराँस नफुलेको स्थानीय बताउँछन्।

किन फुलेन गुराँस?

जलवायु परिवर्तन कारणले गुराँस फुल्न नसकेको कञ्चनजंघा संरक्षण क्षेत्रका वार्डेन दिपेन्द्र पोखरेल बताउँछन्। यस वर्ष विगतको जस्तो असोजदेखि अहिलेसम्म खासै वर्षा हुन सकेन। हिमाली भेगमा हिमपात नभई हिउँ पर्ने समय गएको छ।

विगतमा चाँदीजस्तै सेताम्य हुने हिमाल कालो चट्टानजस्तै देखिन थालेका छ। हिउँ पग्लेर हिमरेखाभन्दा माथि जान थालेको पोखरेलले बताए। हिमालमा समयमै हिमपात र वर्षा कमी हुनुले पनि जैविक विविधतामा असर पुगेको वार्डेन पाखरेलको भनाइ छ।

त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्ने वनस्पतिविद् विजया पन्त जमिनमा पानीको मात्रा कम भएकाले यसपालि गुराँस नफुलेको बताइन्। ‘त्यही ठाउँमा अघिल्लो वर्ष फुल्ने यस वर्ष नफुल्ने भनेको सुक्खापनले गर्दा नै हुनुपर्छ,’ उनी भन्छिन्, ‘पानीलाई सोसेर गुराँस फुल्ने भएकाले फुल्नुअघि पानी नपर्दा गुराँस फुल्न सकेन।’

उनका अनुसार सुक्खा हुनेबित्तिकै सूक्ष्म जीवाणु र ढुसीले माटो मलिलो र रसिलो बनाउने प्रक्रिया बन्द हुने भएकाले कोपिला लागे पनि गुराँसको फूल फक्रिन नसकेको हुनुपर्छ। बिरुवा फुल्नु–नफुल्नु, फल–लाग्नु नलाग्नुमा जलवायु परिवर्तनजस्ता अरू थुप्रै कारण पनि उत्तिकै जिम्मेवार हुने उनले बताइन्। -दिलकुमार लिम्बू/रासस

प्रकाशित: १० वैशाख २०८० १०:०७ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast