सम-सामयिकी

ताजा समाचारका प्रस्तोता- टेड टर्नर

ध्रुवहरि अधिकारी २९ वैशाख २०८३ १९:०९ | Tuesday, May 12, 2026
12
SHARES
ताजा समाचारका प्रस्तोता- टेड टर्नर नेपाल टेलिभिजनका वरिष्ठ पत्रकार दुर्गानाथ शर्मा सीएनएनका टेड टर्नरका साथ। टर्नरले शर्मालाई नेपालका ‘ल्यारी किङ्ग’ भनेर प्रशंसा गरेका रहेछन्। – फोटो: स्व. शर्माका छोरा पंकजको फेसबुक पृष्ठबाट। (एआईको सहायतामा परिस्कृत गरिएको)

अहोरात्र सचित्र समाचार प्रसारण गर्ने विश्वको पहिलो टेलिभिजन संस्था सी.एन्.एन्.का संस्थापक टेड टर्नर गएको ६ मे (२३ वेैशाख २०८३) यस धरतीबाट बिदा भए। ८७ वर्षीय टर्नरको निधन फ्लोरिडामा भयो तर शोकको तीव्रता जर्जियाको एटलाण्टामा बढी महसूस भयो। किनभने सीएनएनको मुख्यालय टर्नरले त्यहीँ राखेका थिए। त्यसअघि प्रसारणमा रहेका धेरैजसो अमेरिकी टेलिभिजन माध्यमले क्यालिफोर्निया वा न्यूयोर्कलाई मुख्य केन्द्र बनाउने गरेका थिए। तर टर्नरले वैकल्पिक ठाउँ रोजे। ३९ औं राष्ट्रपति जिम्मी कार्टरको जन्मस्थल भएकोले जर्जिया पहिले नै महत्व पाएको राज्य भैसकेको थियो।

ओहायो राज्यको सिन्सिन्याटी शहरमा सन् १९३८ जन्मेका टर्नरको निधनमा दुःख प्रकट गर्नेमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पनि पर्छन्। हुन त अचेल ट्रम्प सीएनएन मन पराउँदैनन् तर टर्नरले पहिले लगाएको गुन बिर्सन सक्दैनन्। भन्छन्ः- मलाई जति बेला उनको जरुरत पर्थ्यो टर्नर उपलब्ध हुन्थे,असल कार्यको लागि सदैव अग्रसर रहन्थे।’ सीएनएन प्रमुख कार्यकारी मार्क थम्प्सनले वक्तव्य नै निकालेर टर्नरको निर्भीकताको प्रशंसा गरेका छन्। उनी एक समय बीबीसीका प्रमुख थिए।

राष्ट्रपति छँदा जर्ज बुशले भन्थेः- सीएनएनबाट पाइने जानकारी सी.आई.ए. ले दिने भन्दा बढी हुन्थ्यो।’ आजभोलि त सीएनएन सिङ्‌गो अमेरिकाको चिनारी भैसकेको छ। तर आरम्भका दिन कठिन थिए। प्रसारणको फाँटमा कतिपय लगानीकर्ताले यस्तो परियोजनामा पैसा खन्याएको देखेर ओठ लेब्य्राउँथे। सन् १९८० दशकको आरम्भमा उपलब्ध प्रविधिबारे समीक्षा गर्नेले त्यो शङ्‌कालाईे नाजायज पनि नभन्लान्।

जे होस्, सन् १९८० को जून १ तारिखमा केबुल (तार) प्रविधि प्रयोग गरेर २४ सेै घण्टा समाचार प्रसारणमा रहने टेलिभिजनको थालनी गरेर टर्नरले इतिहासकै रचना गरे। तर नयाँ संस्था टिकाउ हुनेमा सन्देह भएकाहरूले पहिले-पहिले त सीएनएन ‘चिकेन नूडल नेटवर्क’ को संक्षिप्त नाम हो भनेर व्यङ्‌ग्य समेत गर्थे।

तर सीएनएन सञ्चालनमा आएको एकवर्षमा राष्ट्रपति रोनाल्ड रेगनको हत्याको दुष्प्रयास भएका बखत सीएनएनको प्रत्यक्ष प्रसारणले चर्चा पायो। त्यसैगरी, सन् १९८६मा ‘च्यालेञ्जर’ अन्तरीक्षयान विस्फोटनको घटना प्रत्यक्ष प्रसारणपछि सीएनएनको चर्चा बाक्लो भएर गयो। परन्तु सीएनएनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याएको चाहिँ सन् १९९०-९१ मा भएको पहिलो खाडीयुद्धताका प्रसारणले हो। नेपालका धेरै दर्शकहरूलाई हेक्का होला, पिटर आर्नेटले सीएनएनका दर्शकलाई इराकबाट लगातार लडाञीको ताजा समाचार सम्प्रेषण गरेका थिए।

सीएनएन खुलेदेखि आजसम्म त्यसमा कार्यरत क्रिष्टियन अमानपोरले टर्नरप्रति श्रद्धाञ्जलि मन्तव्य दिँदै भनेकी छिन्ः- टेड टर्नरले सञ्चारजगत्‌मा जुन क्रान्ति ल्याए त्यो मानव जातिकै भलाइको लागि भएको प्रमाणित भएको छ।’ रुपर्ट मुर्डोक उनका प्रतिस्पर्द्धी थिए जसले सीएनएनको सफलताबाट प्रभावित भएर सन् १९९६ मा ‘फक्स न्यूज’ सञ्चालनमा ल्याए। यिनका प्रसारण र प्रकाशन माध्यमहरू अमेरिका, बेलायत र अष्ट्रेलियामा छरिएका छन्।

सीएनएन बामे सर्दै गरेको बेला टर्नरले मुख्यालयकै एक खण्डलाई निवास बनाएका थिए। बखत-बखतमा नुहाएर निस्कँदा लामो पहिरनमै समाचार कक्षमा पुगेर शीर्षकहरूको प्राथमिकताबारे सञ्चारकर्मीहरूसँग छलफल गर्थे। समयको अन्तरालमा सीएनएनले निकै तरक्की ग-यो। आजभोलि सीएनएन भनेपछि स्वतः चिनिन्छ। थप विशेषण आवश्यक छैन।

संसारका सबैजसो देशमा सीएनएनका संवाददाता कार्यरत छन्, कतिपय नेपालीले पनि त्यसमा आबद्ध भएर काम गरेको अनुभव सँगालेका छन्। नेपाल टेलिभिजनका केही पत्रकारले परिचित र प्रशिक्षित हुने समेत अवसर पाएका छन्। हो, बरू तिनले सिकेको सीप कति उदार ढङ्‌गले उपयोग हुन सकेको छ त्यसको बेग्लै लेखाजोखा हुन आवश्यक छ।

टेड टर्नर समाचार प्रसारणमा सीमित रहेनन्, चलचित्र समेतका सञ्चारका अन्य फाँटमा लगानी गरे र प्रशस्त कमाए पनि। तर कमाएजति सबै आफ्नै लागि मात्र खर्च गरेनन्। उनले परोपकारी काममा खुला हातले सहयोग गर्ने बानी बसालेका थिए। उनको परोपकारी भावनाको अभिव्यक्ति उनले एकपल्ट संयुक्त राष्ट्रसंघलाई एक अर्ब डलरको सहयोग मार्फत गरेका थिए। पर्यावरण र मानवहितका अन्य कतिपय क्षेत्रमा दशौं लाखको सहयोग उपलब्ध गराए जुन निकै मूल्यवान् मानिएको छ।

सीएनएनको लागि गरेको लगानी र त्यसप्रतिको अपनत्व टर्नरको लागि विशेष महत्वको रहेछ। एकै व्यक्तिले पनि आँट ग-यो भने गहकिलो उपलब्धि गर्नसक्दो रहेछ भन्ने उनको विश्वास सन् १९९८ मा उनैले लिएका केही नामले प्रष्ट पार्दछन्ः-अलेक्ज्याण्डर द ग्रेट,नेपोलिएन,गान्धी, क्राइष्ट,मुहम्मद,बुद्ध,(जर्ज) वाशिङ्‌टन, रुजवेल्ट र चर्चिल। टर्नरले आफ्नो नाम पनि यसै लहरमा आउन सक्छ भन्ने अपेक्षा गरेका हुँदा हुन्।

सीएनएनको सन्दर्भमा मेरो निजी अनुभव सन् १९८१ को सेप्टेम्बरमा ड्याग ह्यामरशोल्ड फेलोशिप पाएको ‘फेलो’ भएर संयुक्त राष्ट्रसंघ पुगेका बखत प्राप्त भएको हो। त्यस बेला सीएनएन साँच्चिकै केबुलबाटै समाचार वितरण गर्थ्यो। र, अमेरिकामा सीमित थियो।

मैले पहिलो पटक सीएनएन समाचार नेपाली कूटनीतिक प्रतिनिधि यादवकान्त सिलवालको निवासमा खानामा बोलाइएका बखत हेरेको सम्झना छ। पछि-पछि स्थायी प्रतिनिधि उद्धवदेव भट्टसँग बसेर पनि हेर्न पाइयो। नेपाली नियोगका अन्य अधिकृतमध्ये कुमार ज्ञवाली, केशवराज झा र लीलाप्रसाद शर्माहरूको आतिथ्य स्वीकार गर्दा पनि टेलिभिजन समाचारतर्फ मैले सीएनएनलाई नै प्राथमिकतामा पार्ने गरेको थिएँ।

सीएनएन ताजा समाचार प्रस्तुतिमा आज पनि अग्रणी नै छ यद्यपि यसमा आउने विश्लेषण एवं विवचेनाहरू भने अपेक्षाकृत सशक्त त प्रखर भएको पाइँदैन। यो निजी दृष्टिकोण हो।

प्रकाशित: २९ वैशाख २०८३ १९:०९ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast