अनुसन्धान प्रयोगशालामा मात्र होइन किसानको खेतबारीसँग जोड्न आवश्यक : सांसद कर्ण

रोग नियन्त्रण, गुणस्तरीय बीउ उत्पादन, बजार व्यवस्थापन र कृषि आधुनिकीकरणलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक

हिमाल प्रेस ३१ वैशाख २०८३ २१:४२ | Thursday, May 14, 2026
10
SHARES
अनुसन्धान प्रयोगशालामा मात्र होइन किसानको खेतबारीसँग जोड्न आवश्यक : सांसद कर्ण

काठमाडौँ- संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसद खगेन्द्र कर्णले नेपालको कृषि क्षेत्रका संरचनात्मक समस्या, अनुसन्धानको कमजोरी र किसानले भोगिरहेका व्यावहारिक चुनौतीबारे गम्भीर प्रश्न उठाएका छन्।

समितिका सभापति अशोक चौधरीको सभापतित्वमा बसेको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले गरेको प्रस्तुतिमाथि टिप्पणी गर्दै कर्णले कृषि अनुसन्धानलाई प्रत्यक्ष रूपमा किसानको आवश्यकता र उत्पादनसँग जोड्नुपर्ने बताएका हुन्।

उनले विशेषगरी पूर्वी पहाडी क्षेत्रमा हुँदै आएको अलैँची खेतीमा देखिएको फङ्गसजन्य रोग नियन्त्रणमा प्रभावकारी काम गर्न सरकार र अनुसन्धान परिषद्लाई आग्रह गरे। अलैँची नेपालको महत्वपूर्ण नगदे बाली भए पनि रोगका कारण किसान मारमा परेको उल्लेख गर्दै उनले वैज्ञानिक अनुसन्धान र रोग नियन्त्रण कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

त्यस्तै, नेपाल आलु उत्पादनमा आत्मनिर्भर बन्न सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि गुणस्तरीय बीउ अभावका कारण किसानले समस्या झेलिरहेको उनको भनाइ थियो। उनले रोग नलाग्ने आलुको बीउ टिस्यु कल्चर विधिबाट उत्पादन गर्न माग वार्षिक २५ लाख बराबर भए पनि नार्कले जम्मा ६ लाख मात्र उत्पादन गर्न सकेको तथ्य उल्लेख गर्दै अनुसन्धान र उत्पादन क्षमताबीच ठूलो अन्तर रहेको औल्याए।

बैठकमा उनले केरा खेतीको सम्भावनामाथि पनि जोड दिए। नेपाल अहिले केरामा आत्मनिर्भरतातर्फ उन्मुख रहे पनि विभिन्न रोगका कारण किसान त्रसित बनेको भन्दै उनले वैज्ञानिक अनुसन्धानमार्फत रोग नियन्त्रणका उपाय खोज्नुपर्ने बताए। बाहिरको केरा आउन नै नपाउने भन्दा पनि त्यससँग प्रतिशपर्धा गर्ने शैलीमा हाम्रा कृषकलाई प्रोत्सान गर्न आवश्यक रहेकोमा उनको जोड थियो।

तराई–मधेश क्षेत्रमा पछिल्ला वर्षमा आँप खेतीप्रति आकर्षण बढिरहेको उल्लेख गर्दै कर्णले आँपको व्यावसायीकरणका लागि बोटमा देखिने रोग नियन्त्रण अत्यावश्यक रहेको भन्दै त्यसतर्फ नार्कले कति काम गरेको छ भन्दै जिम्मेवारी बहनमा जोड दिए। नेपालमा वार्षिक करिब पाँच लाख मेट्रिक टन आँप उत्पादन हुने गरे पनि व्यवस्थित बजार, प्रशोधन र व्यावसायिक व्यवस्थापन अभावमा आयात प्रतिस्थापन हुन नसकेको उनको भनाइ थियो।

पेसाले इन्जिनियर भए पनि सांसद कर्णले आफू ‘भुईँमान्छे’ र किसानको पक्षमा बोल्न कृषि समितिमा सक्रिय रहेको बताएका छन्। किसानले समयमा मल नपाउने समस्या, उत्पादन लागत र बजार मूल्यबीचको असन्तुलन तथा उत्पादन गर्ने किसानभन्दा बिचौलियाले बढी लाभ लिने अवस्थाबारे आफूले निरन्तर आवाज उठाउँदै आएको उनले बताए।

उनले किसानले उत्पादन गरेको वस्तु किसान आफैंले उपभोग गर्न नसक्ने गरी बजारमा महँगो हुने अवस्था अन्त्य गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको विषय उठाउँदै आएका छन्। उत्पादन लागत, आपूर्ति प्रणाली र बजार मूल्यबीच सन्तुलन कायम गर्न सरकारका सम्बन्धित निकायहरु गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

सांसद कर्णले कृषि क्षेत्रका यी विषय संसद्मा आफूले लगातार रुपमा उठाइरहने बताएका छन्। प्रधानमन्त्रीसँग निकट मानिएका उनले कृषि, किसान र उत्पादनसँग सम्बन्धित समस्याबारे प्रधानमन्त्रीलाई समेत निरन्तर सुझाव दिँदै आएको स्रोतले जनाएको छ।

बैठकमा कृषि अनुसन्धानलाई प्रयोगशाला केन्द्रित नभई किसानको खेतबारीसँग जोड्नुपर्ने, रोग नियन्त्रण, गुणस्तरीय बीउ उत्पादन, बजार व्यवस्थापन र कृषि आधुनिकीकरणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने विषयमा समेत छलफल भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast