मातातीर्थमा बिहानैदेखि भक्तजनको घुइँचो

हिमाल प्रेस ७ वैशाख २०८० ७:४५ | Thursday, April 20, 2023
मातातीर्थमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ- काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको बिहीबार बिहानैदेखि घुइँचो लागेको छ।

भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन्।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थित रूपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको बताए।

उनले यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको बताए। मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन मातातीर्थ आउने गरेको बताए।

आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा(मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिन रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ।

छोराछोरीले बिहीबार बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

मातातीर्थ मेलाका अवसरमा बिहीबार चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरपालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ। रासस

प्रकाशित: ७ वैशाख २०८० ७:४५ | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast