दक्षिण अफ्रिकाको नेदरल्यान्ड्समाथि सजिलो जित, विश्वकपमा स्वतः छनोट हुने सम्भावना बलियो

हिमाल प्रेस १८ चैत २०७९ ८:४७
10
SHARES
दक्षिण अफ्रिकाको नेदरल्यान्ड्समाथि सजिलो जित, विश्वकपमा स्वतः छनोट हुने सम्भावना बलियो

काठमाडौँ- घरेलु मैदानमा जारी एक दिवसीय शृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पन्छाएसँगै दक्षिण अफ्रिकाले आईसीसी विश्वकप २०२३ मा स्वतः छनोट हुने सम्भावनालाई बलियो बनाएको छ। बेनोनीस्ति विल्लोमोर पार्कमा शुक्रबार पाहुना टिममाथिको यो सहज जितपछि दक्षिण अफ्रिका विश्वकप सुपर लिगको नवौँ स्थानमा उक्लियाे।

दक्षिण अफ्रिकाले डच टिमविरुद्ध आइतबार हुने अन्तिम खेलमा जित दर्ता गरे आठौँ स्थानमा उक्लिनेछ भने हाल आठौँ स्थानमा रहेको वेस्ट इन्डिज नवौँ स्थानमा झर्नेछ। सुपर लिगमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँगको अन्तिम एकदिवसीयसमेत गरेर अझै चार खेल खेल्न बाँकी छ।

उता वेस्ट इन्डिजले सुपर लिगमा अब कुनै खेल खेल्न बाँकी छैन। सुपर लिगमा शीर्ष आठमा रहने टिम आउँदो अक्टोबर-नोभेम्बरमा भारतीय भूमिमा हुने विश्वकपका लागि स्वतः छनोट हुनेछन्।

दक्षिण अफ्रिकालाई सजिलो जित दिलाउन कप्तान टेम्बा बाभुमाले ७९ बलमा ९० रन जोडे। उनीसँग ओपनिङ गरेका क्विन्टन डे कक नौ रनमा आउट भए पनि आइडन मार्कामले बाभुमालाई साथ दिए। यी दुई मिलेर तेस्रो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए।

नेदरल्यान्ड्सबाट पाएको १९० रनको लक्ष्य दुई विकेटको क्षतिमा पूरा गरेको दक्षिण अफ्रिकाका लागि मार्कामले ५१ रन बनाउँदा रासी भान डेर डुसनले ४१ बलमा ३१ रन बटुले।

टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि मध्यक्रमका तेजा निदामानुरुले बनाएको ४८ रन नै सर्वाधिक व्यक्तिगत स्कोर रह्यो। त्यसअघि ओपनर विक्रमजित सिंहले ४५ र म्याक्स ओ डाउड र मुसा एहमदले १७ रनको योगदान गरेका थिए।

नेदरल्यान्ड्सलाई ४६.१ ओभरमा १८९ रनमा अलआउट गर्न दक्षिण अफ्रिकाका टाब्राइज शाम्सी र सिसान्दा मागालाले तीन–तीन विकेट हात पारे। त्यसैगरी एनरिच नोर्जेले दुई तथा मार्को जेन्सेन र मार्कामले एक–एक विकेट हात पारे।

सुपर लिग समीकरण
विश्वकप सुपर लिगमा दक्षिण अफ्रिकाको अब २० खेलबाट अब ८८ अंक भएको छ। श्रीलंका भने १० औँ स्थानमा झरेको छ। श्रीलंका शुक्रबार न्युजिल्यान्डसँग ६ विकेटले हारेसँगै सुपर लिगको शीर्ष आठमा नअट्ने पक्का भयो। शीर्ष आठमा रहने टिमले मात्र विश्वकपमा स्वतः स्थान पक्का गर्ने व्यवस्था छ। त्यसकारण श्रीलंकाले अब विश्वकप प्रवेशका लागि क्वालिफायर खेल्नुपर्नेछ।

क्वालिफायर आउँदो जुनमा जिम्बाबेमा हुँदैछ। जहाँ सुपर लिगको पुछारमा रहने पाँच, लिग-२ को शीर्ष तीन र क्वालिफायर प्लेअफबाट आएका दुई टिम सहभागी हुनेछन्। क्वालिफायरमा प्रतिस्पर्धा गर्ने कुल १० टिममध्ये दुईले विश्वकपमा स्थान बनाउनेछन्। क्वालिफायरमा लिग–२ बाट स्कटल्यान्ड र ओमानसँगै नेपाल सहभागी हुने पक्का भइसकेको छ।

१३ टिम सम्मिलित सुपर लिगको अन्तिम पाँच स्थानमा हाल दक्षिण अफ्रिका र श्रीलंकासँगै आयल्यान्ड, जिम्बाबे र नेदरल्यान्ड्स छन्। सुपर लिगमा हरेक टिमले २४-२४ खेल खेल्ने व्यवस्था छ। सुपर लिगको अन्तिम पाँचमा रहेका टिममध्ये दक्षिण अफ्रिकाले चार, आयरल्यान्डले तीन र नेदरल्यान्ड्सले एक खेल खेल्न बाँकी छ।

यस्तोमा नेदरल्यान्ड्सको विश्वकपमा स्वतः छनोट हुने सम्भावना बाँकी छ। नेदरल्यान्ड्सले आइतबार दक्षिण अफ्रिकासँग अन्तिम एक एकदिवसीय खेल्नेछ भने आउँदो मे महिनामा बंगलादेशसँग तीन एकदिवसीय खेल्ने तालिका छ।

सुपर लिगकाे शीर्ष तीनमा हाल न्युजिल्यान्ड, इंग्ल्यान्ड र भारत छन्। न्युजिल्यान्ड र इंग्ल्यान्डले सुपर लिगमा सबै खेल खेलिसकेका छन्। आयोजक भारतले तीन खेल खेल्न बाँकी छ। चौथो र पाँचौँ स्थानमा बंगलादेश र पाकिस्तान छन्। उनीहरूले पनि तीन-तीन खेल खेल्न बाँकी छ।

यसैगरी छैटौँ र सातौँ स्थानमा क्रमशः अस्ट्रेलिया र अफगानिस्तान छन्। अस्ट्रेलियाले १८ र अफगानिस्तानले १८ तथा १५ खेल खेलेका छन्। विश्वकपमा लगभग स्थान सुरक्षित गरिसकेको अफगानिस्तानले पाकिस्तान र अस्ट्रेलियामा एकदिवसीय शृंखला खेल्ने तालिका छ। सुपर लिगमा आफ्नो अन्तिम शृंखलामा अफगानिस्तान भारतसँग भिड्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =