मंसिर ४ कै चुनावमा रास्वपाबाट चुनाव लड्न चाहन्थे स्वर्णिम

हिमाल प्रेस १६ चैत २०७९ २०:२५
298
SHARES
मंसिर ४ कै चुनावमा रास्वपाबाट चुनाव लड्न चाहन्थे स्वर्णिम तस्बिर- हिमाल प्रेस

काठमाडौँ- अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले बिहीबारमात्रै नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरे। वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को साधारण सदस्य बन्नका लागि अनलाइन आवेदन  दिएर प्रक्रिया पुरा गरिसकेका छन्। उनी वैशाख १० मा हुने उपनिर्वाचनमा ‍तनहुँ-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछन्।

एकाएक रास्वपा प्रवेश गरेर उम्मेदवार नै बन्नुअघि उनी कहिलेदेखि यसको तयारीमा थिए भन्ने आम चासोको विषय बनेको छ। वाग्लेलाई रास्वपाले नै मंसिर ४ को निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार बनाउने प्रस्ताव गरेको थियो। सोहीअनुसार वाग्ले पनि सकारात्मक थिए। तर अन्तिममा उनले कांग्रेस छोडेनन्। वाग्लेलाई चितवन-१ मा कांग्रेसले टिकट दिन्छ भन्ने विश्वास थियो। अर्का अर्थशास्त्री विश्व पौडेलले टिकट लिएर वाग्लेलाई रोकिदिए।

‘मंसिर ४ कै निर्वाचनमा उहाँ (वाग्ले)लाई उम्मेदवार बनाउने तयारी थियो। त्यहीअनुसार कुराकानी पनि भएको थियो। अन्तिममा उहाँ आउनु भएन,’ रास्वपाका एक शीर्ष नेताले भने।

मंसिर ४ को निर्वाचनमा रास्वपाको तर्फबाट उम्मेदवार नबने पनि रास्वपामा वाग्लेलाई ल्याउन उक्त दलका नेता/सांसदहरूले छलफल भने जारी राखेका थिए। यो छलफल राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धनको साझा उम्मेदवार बन्ने पक्का भएसँगै बाक्लिएको थियो।

पौडेल राष्ट्रपतिको उम्मेदवार बनेर निर्वाचित भएसँगै तनहुँ-१ को प्रतिनिधिसभा क्षेत्र प्रतिनिधिसभा सदस्यबिहीन बन्यो।

‘तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि त छलफल झन बाक्लो भयो,’ ती नेताले भने, ‘रास्वपाको लक्ष्य पार्टीलाई बलियो बनाउन बलियै उम्मेदवार चाहिन्छ भन्ने भयो। रास्वपाको लक्ष्य र स्वर्णिम वाग्लेको इच्छा मिल्यो। कुराकानी भयो। कुरा मिलेपछि उहाँ रास्वपा प्रवेश गरेर उम्मेदवार बन्न राजी हुनुभयो।’

ती नेताका अनुसार रास्वपाले आफ्ना उम्मेदवारलाई जिताउन अन्य दलसँग सहकार्यको प्रस्ताव पनि गर्नेछ। ‘हाम्रो दलले आफ्ना उम्मेदवारलाई जिताउन अन्य दललाई पनि सहयोग गर्ने प्रस्ताव गर्ने नै भयो, ‘ उनले थप भने, ‘हामीले अरू दलका उम्मेदवारलाई सहयोग गर्ने सम्भावना भने सकियो। चितवन-२ र तनहुँ-१ मा हाम्रो बलियो उपस्थिति हुने पक्का भइसक्यो। अब त्यहीअनुसार चुनावको तयारी हुन्छ। बारा-२ को लागि पनि हामी बलियो उम्मेदवारका लागि छलफल गरिरहेका छौँ।’

कांग्रेस छोड्दै स्वर्णिमले भने : पार्टी दाइ,भाउजू, साला, भतिजको अक्षम गिरोहमा परिणत भयो

 

कांग्रेसका चार नेतालाई पार्टी छोडेको स्वर्णिमको एसएमएस

 

प्रकाशित: १६ चैत २०७९ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =