काठमाडौँ- अर्थमन्त्री स्वर्णिम वाग्लेले सुनसरीको देवानगन्ज घटनाको समाधानका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सक्रिय रूपमा पहलकदमी गरिरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारको धारणा राख्दै उनले सुनसरीमा उत्पन्न परिस्थितिप्रति प्रधानमन्त्री गम्भीर रहेको र समाधानका लागि आवश्यक पहल भइरहेको बताए।
उनले सामाजिक एकता र सद्भाव कायम राख्न, सुरक्षा व्यवस्था चुस्त बनाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार सुनिश्चित गर्न सरकार गम्भीर रहेको बताए।
प्रधानमन्त्रीको समन्वयमा आवश्यक पहल अहोरात्र भइरहेको र राजनीतिक दलहरूको अग्रसरतालाई सरकारले सकारात्मक रूपमा लिएको उनले भने।
अर्थमन्त्री वाग्लेले सुनसरीको अवस्था सामान्य बनाउन तथा सुरक्षा व्यवस्थाको प्रत्याभूति दिलाउन सरकारले आवश्यक समन्वय गरिरहेको जानकारी दिए।


