एपीएफ फाइनलमा, सुदूरपश्चिमको सम्भावना कायमै

हिमाल प्रेस ११ चैत २०७९ २०:३६
12
SHARES
एपीएफ फाइनलमा, सुदूरपश्चिमको सम्भावना कायमै काेशी (निलाे) र एपीएफका खेलाडी हात मिलाउँदै

काठमाडौँ- नेपाल एपीएफ क्लब ललितपुर मेयर महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार कोशी प्रदेशमाथि सात विकेटको जित दर्ता गरेसँगै एपीएफले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो।

यसअघि मधेश प्रदेशलाई १० विकेट र सुदूरपश्चिम प्रदेशलाई १५ रनले पन्छाएको एपीएफको तीन खेलबाट ६ अंक भएको छ। एपीएफले लिग चरणको अन्तिम खेलअघि नै फाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले लिग चरणको अन्तिम खेलमा आयोजक ललितपुर मेयर एघारसँग प्रतिस्पर्धा गर्नेछ। कोशी भने दुई खेलबाट दुई अंक बटुलेर तेस्रो स्थानमा छ।

शनिबार नै भएको अर्को खेलमा सुदूरपश्चिमले मधेशलाई सात विकेटले नै पन्छायो। यो जितपछि सुदूरपश्चिमको तीन खेलबाट चार अंक भएको छ। सुदूरपश्चिमले अब अन्तिम खेलमा कोशीको सामना गर्नेछ। सुदूरपश्चिम पछिल्ला दुई संस्करणको फाइनलमा पुगेको टिम हो। तर ती दुवै फाइनलमा सुदूरपश्चिम एपीएफसँग पराजित भएको थियो। कोशीलाई हराए सुदूरपश्चिमले फेरि एकपल्ट उपाधि भिडन्तमा स्थान बनाउनेछ।

ट्वान्टी२० ढाँचाको यो प्रतियोगितामा कुल पाँच टिम सहभागी छन्। प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका कोशी, सुदूरपश्चिम, एपीएफ क्लब र मधेशसँगै आयोजक ललितपुर मेयर एघारलाई यो प्रतियोगितामा सहभागी गराइएको हो।

एपीएफलाई कोशीविरुद्ध जित दिलाउन सीता राना मगरले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरिन्। ब्याटिङ रोजेको कोशीलाई निर्धारित २० ओभरमा ८७/५ मा सीमित गर्न ११ रन खर्चिएर तीन विकेट हात पारिन्। त्यसैगरी २० ज्ञलमा १९ रन जोडिन्।

कोशीले दिएको ८८ रनको लक्ष्य पूरा गर्न एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन्। उनीसँग नटआउट रहेकी रोमा थापाको नाममा ११ रन रह्यो। त्यसअघि ज्योति पान्डे र सीताले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए। ज्योति १० बलमा ११ रन बनाएर आउट भइन्। तेस्रो नम्बरमा ब्याटिङ गरेकी इन्दु बर्माले २९ बल खेलेर १८ रन जोडिन्।

त्यसअघि कोशीका लागि सुरुवाती तीन ब्याट्सवुमनले सन्तोसजनक ब्यटिङ गरे पनि बाँकी सस्तैमा समेटिएका थिए। काजल श्रेष्ठ र कप्तान रुविना क्षेत्रीले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए। सीताको बलिङको सिकार हुनुअघि काजल र रुविनाले क्रमशः २९ र २४ रन बनाए।

अप्सरी बेगमले ३६ बलमा २२ रन बनार कोशीको इनिङ्सलाई अघि बढाएकी थिइन्। तर त्यसपछि कुनै पनि ब्याट्सवुमन जम्न सकेनन्। सवनम राई शून्यमा आउट भइन् भने स्मिृति कटवालको नाममा आठ रन रह्यो।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि सुदूरपश्चिमले मधेशलाई १९ ओभरमा ६५ रनमा अलआउट गर्‍यो। लक्ष्मी साउदले १५ रन खर्च गरेर तीन विकेट हात पारिन् भने रितु कनौजियाले चार र सम्झना खड्काले क्रमशः चार तथा आठ रन खर्चिएर दुई/दुई विकेट हत पारे।

मधेशका लागि अलिशा यादव र सरस्वती कुमारीले १५/१५ रन जोडे। यी दुईबाहेक कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर गर्न सकेनन्। प्लेयर अफ दि म्याच बनेकी रितुले अविजित २१ रन बटुलिन्। नटआउट नै रहेकी रुवी पोद्दारले १४ रन जोडिन्। त्यसैगरी कप्तान विन्दु रावल र सम्झनाकाे नाममा १० तथा नौ रन रह्यो।

प्रकाशित: ११ चैत २०७९ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =