नयाँ स्वरुपको पाकिस्तानमाथि अफगानिस्तानको अविस्मरणीय जित

हिमाल प्रेस ११ चैत २०७९ ८:५५
16
SHARES
नयाँ स्वरुपको पाकिस्तानमाथि अफगानिस्तानको अविस्मरणीय जित पाकिस्तानविरुद्धकाे खेलमा अफगानिस्तानका खेलाडी।

काठमाडौँ- अनुभवी मोहम्मद नाबीको अलराउन्ड प्रदर्शनमा अफगानिस्तानले शारजाहमा सुरु भएको ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा छिमेकी पाकिस्तानमाथि ६ विकेटको जित हात पारेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट रंगशालामा शुक्रबार नयाँ स्वरुपको पाकिस्तानलाई हराउन नाबीले अविजित ३८ रन र दुई विकेटको योगदान गरे।

टवान्टी-२० अन्तर्राष्ट्रियमा अफगानिस्तानले पाकिस्तानलाई पहिलो पटक हराएको हो। यी दुई टिम कुल चार पटक भिडेका छन्। यसअघिका सबै तीन खेलमा पाकिस्तानले जित दर्ता गरेको थियो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानलाई ९२/२ मा समेट्न नाबीले दुई विकेट लिन १२ रन खर्चिदा मुजिब उर रहमान र फाजालाक फारुकीले पनि किफायती बलिङ गरे। रहमानले नौ र फारुकीले १३ रन खर्च गरेका थिए।

नाबीले ब्याटिङ गर्दा पनि धैर्यता देखाए। उनले पाँचौँ विकेटका लागि नजिबुल्लाह जार्दानसँग ५३ रनको साझेदारी गरेपछि अफगानिस्तानले १७.५ ओभरमा लक्ष्य भेट्टाएको थियो। पाकिस्तानका लागि इमाद वासिमले बनाएको १८ रन नै सर्वाधिक स्कोर रह्यो। ओपनर साइम आयुबले १७, तायाब ताहिरले १६ र कप्तान शदाब खानले १२ रनको योगदान गरे।

‘पाकिस्तानले दिएको लक्ष्य यहाँको पिचमा पछ्याउन सजिलो थिएन। त्यसअघि हामीले बलिङ राम्रो गरेका थियौँ। ब्याटिङ गर्ने पालो आएपछि मैले जिम्मेवारीपूर्वक खेल्ने प्रयास गरेँ। टिमका अरुले पनि जिम्मेवारी पूरा गरे। हाम्रो टिमका धेरैजसो खेलाडी विश्वभरका ठूला लिग खेलिरहेका छन्। अनुभवी छन्। फेरि यूएई आएकै १५ दिन भइसकेको थियो। यसकारण हामी यो खेलका लागि तयार थियौँ,’ म्यान अफ दि म्याच बनेका नाबीले भने।

उता पाकिस्तानका कप्तान शदाबले आफ्ना टिमका अधिकांश खेलाडीका लागि यो पहिलो अन्तर्राष्ट्रिय खेल भएकाले उनीहरू आत्तिएको बताए। ‘हामीले बनाएको रणनीति ठिकठाक थियो। तर युवा खेलाडीहरू आत्तिए। स्तर अनुसारको खेल देखाउन सकेनन्। यस्तो हुनु स्वाभाविक हो। यी खेलाडीहरूले मौका पाउँदै जानुपर्छ। त्यसो भएपछि उनीहरू परिस्कृत हुँदै जान्छन्,’ बाबर आजमको अनुपस्थितिमा कप्तानी गरेका शदाबले भने।

बाबरबाहेक मोहम्मद रिज्वान, फकार जामन, शाहिन शाह अफ्रिदी र हरिस राउफ पाकिस्तानको टिममा छैनन्। उनीहरूको स्थानमा कम अनुभवीर नयाँ खेलाडीलाई मौका दिइएको छ। यही खेलमार्फत चार खेलाडीले डेब्यु पनि गरे। ती खेलाडी थिए, साइम आयुब, तयाब ताहिर, इसानुल्लाह र जमान खान।

भर्खरै सकिएको पाकिस्तान सुपर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेटेर बनाइएको टिमले पाकिस्तानका लागि अहिलेसम्मकै पाँचौँ सानो योगफल बनायो। सेप्टेम्बर, २०१२ मा अस्ट्रेलियाविरुद्धको ७४ रन पाकिस्तानको सर्वाधिक सानो योगफल हो।

सन् २०१४ मा वेस्ट इन्डिजविरुद्धको ८२, २०१६ मा भारतविरुद्धको ८३ र २०१० मा इंग्ल्यान्डविरुद्धको ८९ रन पाकिस्तानका अन्य साना योगफल हुन्। पहिलो पटक अन्तर्राष्ट्रिय शृंखलामा आमनेसामने भइरहेको पाकिस्तान र अफगानिस्तानले बाँकी दुई खेल आइतबार र सोमबार खेल्ने तालिका छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =