राष्ट्रपति पौडेललाई छिमेकीद्वयको बधाई

हिमाल प्रेस २९ फागुन २०७९ २१:०८ | Monday, March 13, 2023
राष्ट्रपति पौडेललाई छिमेकीद्वयको बधाई

काठमाडौँ– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकीद्वय भारत र चीनले बधाई दिएका छन्। भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार बधाई ज्ञापन गरेकी हुन्।

सोमबार पद तथा गोपनीयताको शपथ लिएका पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकोमा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन्।

पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छन्।

भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेको पत्रमा उल्लेख छ।

राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि मुर्मुले पठाएको पत्रमा उल्लेख छ।

द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले जनाएकी छन्।

यस्तै चिनियाँ राष्ट्रपति सी जिनफिङको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत चेन संगले पौडेललाई बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपतिमा निर्वाचित भएकोमा संगले छिमेकी मुलुक चीन सरकारका तर्फबाट पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २९ फागुन २०७९ २१:०८ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast