विश्वकप छनोटमा नेपालको अपराजित यात्रा कायमै

हिमाल प्रेस १५ फागुन २०७९ १६:५३ | Monday, February 27, 2023
विश्वकप छनोटमा नेपालको अपराजित यात्रा कायमै

काठमाडौँ- आईसीसी अन्डर–१९ विश्वकप छनोटमा नेपालले विजयी यात्रा जारी राखेको छ। एसियातर्फको छनोटमा तेस्रो जित हात पार्ने क्रममा नेपालले हङकङलाई नौ विकेटले पराजित गरेको हो।

यो जितसँगै नेपालको ६ अंक भएको छ। नेपालले पछिल्ला दुई खेलमा कुवेतलाई २४३ रन र सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो। नेपाल जस्तै घरेलु टिम यूएई पनि अपराजित छ। यूएईले हङकङलाई १६३ रन र मलेसियालाई सात विकेटले पन्छाएको थियो।

संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीस्थित मालेक क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा सबै विकेट गुमाएर १२० रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गरेको नेपालले २२.१ ओभरमा एक विकेट गुमाएर १२६ बनायो।

नेपालको जितमा आकाश त्रिपाठीले सर्वाधिक अविजित ६४ रन बनाए। उनले ७२ बल सामना गर्दा चार छक्का र पाँच चौका प्रहार गरेका थिए। छनोटमा यो उनको दोस्रो अर्धशतक हो। उनले सिंगापुरविरुद्ध ७८ रन बनाएका थिए।

विजयी टिमका लागि उत्तम मगरले ३९ र अर्जुन कुमालले १६ रनको योगदान गरे।

त्यसअघि हङकङलाई सस्तैमा समेट्न नेपालका हेमन्त धामीले १९ रन खर्च गरेर तीन विकेट हात पारेका थिए। त्यसैगरी सुवास भण्डारीले १० रन खर्चिएर दुई विकेट लिँदा आकाश चन्दको नाममा पनि दुई विकेट रह्यो। दीपेश कँडेलले एक विकेट थपे।

हङकङका लागि पार्थ भागवतले सर्वाधिक ३६ रन बटुले भने आलियान जाहिर मोहम्मदले २९ र आहान त्रिवेदीले ११ रनको योगदान गरे। यी तीनबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गरेनन्।

नेपालले अब चौथो खेलमा मंगलबार मलेसिया र अन्तिम खेलमा बिहीबार यूएईको सामना गर्नेछ।

प्रकाशित: १५ फागुन २०७९ १६:५३ | Monday, February 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast