वसन्त ऋतुको आगमनसँगै गुराँसले रंगीन वनपाखा

हिमाल प्रेस १४ फागुन २०७९ २२:००
16
SHARES
वसन्त ऋतुको आगमनसँगै गुराँसले रंगीन वनपाखा

ताप्लेजुङ- वसन्त ऋतुको आउन थालेसँगै पहाडी जिल्लाका वनपाखा गुराँसले रंगीन हुन थालेका छन्। गुराँस पाइने ताप्लेजुङसहितका पूर्वीपहाडी जिल्लाहरूमा गुराँस फुल्न सुरु भएसँगै यहाँका वनपाखाहरू मनोरम देखिन थालेका हुन्।
यहाँका वनपाखामा कतै गुराँसका कोपिला त कतै फूल नै फक्रिएर ढकमक्क भएको छ। ताप्लेजुङको सुकेटार, देउराली, पाथीभरालगायतका ठाउँ गुराँस फुलेर रंगीन भएका छन्।

ताप्लेजुङ, तेह्रथुम र संखुवासभाको संगमस्थल अर्थात् गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रमा हालै मात्रै गुराँस फुल्न सुरु भएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष केही ढिला गरी गुराँस फुलेको थालेको स्थानीय चन्द्र कार्कीले बताए।

मौसमी परिवर्तनका कारण पनि यो वर्ष ढिलो गरी गुराँस फुल्न सुरु भएको हुनसक्ने उनको बुझाइ छ। तापक्रम परिवर्तनले पनि फुल्ने समय कहिले अघि कहिले पछि हुने विज्ञ बताउँछन्। लामो समयसम्म पानी नपरेर मौसम सुक्खा हुँदा पनि गुराँस ढिलो फुलेको यसअघि देखेको पाथीभरा क्षेत्रका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए।

विशेषगरी माघदेखि नै फुल्न सुरु हुने गुराँस चैत, वैशाखमा भने पूर्णतया फक्रिन्छ। रातो, गुलाबी र सेतो रङहरूमा फुल्ने गुराँसका विभिन्न प्रजाति नेपालमा पाइन्छन्। नेपालको राष्ट्रिय फूलका रूपमा रहेको लालीगुराँस धार्मिक र सांस्कृतिकरूपमा पनि महत्त्वपूर्ण मानिन्छ।

थरीथरी रङमा फुल्ने गुराँसको धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ। जब गुराँसे वनहरूमा गुराँस ढकमक्क देखिन्छन् तब आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमनसँगै चहलपहल सुरु हुन्छ। गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले क्षेत्रमा मात्रै वार्षिक बाह्य तथा आन्तरिक गरी हजारौँको संख्यामा पर्यटकहरू पुग्ने गरेका छन्।

गुराँसको सौन्दर्यसँग रम्न र रमाउन चाहनेहरूको निकै चहलपहल हुने स्थानीय होटल व्यवसायीहरू बताउँछन् । एकै ठाउँमा धेरै प्रजातिका गुराँस पाइने भएकाले पनि यस क्षेत्रमा गुराँसको अवलोकन गर्न पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको छ।

यसबाट स्थानीय व्यवसायीको आम्दानीमा समेत सघाउ पुग्छ। यद्यपि वनजंगलको विनाशसँगै गुराँस पनि मासिँदै गएको छ। जथाभावी सडक विस्तारसहितका भौतिक संरचनाको निर्माणलगायतले वनहरू मासिन थालेकाले गुराँस पनि मासिँदै गएको छ। राससको सहयोगमा

प्रकाशित: १४ फागुन २०७९ २२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =