यूएई भ्रमणमा नेपाल : सन्दीप र सूर्य बाहिरिए; आरिफ, प्रतिस र मौसम भित्रिए

हिमाल प्रेस १३ फागुन २०७९ १२:१७ | Saturday, February 25, 2023
यूएई भ्रमणमा नेपाल : सन्दीप र सूर्य बाहिरिए; आरिफ, प्रतिस र मौसम भित्रिए गत बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेपछि नेपाली क्रिकेट टिम र क्यानका पदाधिकारी।

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले अन्ततः सन्दीप लामिछानेलाई बाहिरै राखेर नयाँ टिमको घोषणा गरेको छ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखला खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेको टिमको औपचारिक घोषणा शनिबार गरिएको हो। शनिबार नै नेपाली टिम यूएईतर्फ प्रस्थान गर्दैछ।

यूएई भ्रमणका लागि मुख्यप्रशिक्षक मोन्टी देशाईले सन्दीपसँगै सूर्य तामाङलाई नराख्दा आरिफ शेख, श्याम ढकाल (मौसम) र प्रतिस जीसीलाई स्थान दिएका छन्। यी तीनै खेलाडी हालै घरेलु मैदानमा भएका शृंखलाका लागि वैकल्पिक सूचीमा थिए। प्रतिस जीसी र श्याम पहिलो पटक राष्ट्रिय टिममा परेका हुन्।

नाबालिगमाथि बलात्कार गरेको आरोप खेपिरहेका सन्दीपलाई उच्च अदालत, पाटनले २८ पुसमा विदेश जान नपाइनेगरी सन्दीपलाई धरौटीमा रिहा गरेको थियो। त्यसपछि राष्ट्रिय टिममा फर्काइएका सन्दीपले फेब्रुअरी १४–२१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको शृंखला खेलेका थिए। लिग–२ अन्तर्गत विदेशमा हुन लागेको अन्तिम शृंखलामा सन्दीपलाई खेलाउनका लागि कानुनी अड्चन फुकाउन क्यान लागि परेको थियो।

त्यसै अनुरुप सन्दीप विदेश जान पाउँ भन्ने निवेदन सहित सर्वोच्च अदालत पुगेका थिए। तर इश्वर खतिवडाको इजलासले सन्दीपको माग स्वीकार गरेन। बरु उच्च अदालतविरुद्ध सरकारले दिएको निवेदन समेत राखेर आइतबार पेश गर्न आदेश दिइएको छ।

सन्दीपलाई सर्वोच्च अदालतले विदेश जान देला कि भन्ने आशा गरेको क्यानले ढिलोगरी टिम घोषणा गरेको हो।

यसअघि विभिन्न उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका प्रतिस अलराउन्डर हुन्। नेपाल टि२० मा उनले पोखरा एभेन्जर्सबाट खेलेका थिए। बलर मौसम भने एपीएफ क्लबबाट घरेलु क्रिकेट खेल्छन्।

सात टिमसम्मिलित लिग–२ मा नेपाल २६ अंकसहित छैटौँ स्थानमा छ। घरेलु मैदानमा पछिल्ला चारै खेल जितेको नेपाल र पाँचौँ स्थानको यूएईबीच तीन अंकको फरक छ। यूएईले २७ र नेपाले २८ खेल खेलेका छन्। चौथो स्थानको अमेरिकाले सबै खेल खेलेर ३५ र एक खेल्न बाँकी रहेको नामिबियाको ३७ अंक छ। नामिबिया आफ्नो अन्तिम शृंखला खेल्न हाल यूएईमा छ।

एकदिवसीय मान्यता जोगाउन नेपाल लिग–२ को शीर्ष पाँचमा पर्नुपर्नेछ। विश्वकप छनोटमा सिधैँ छानिन भने शीर्ष तीनमा अट्नुपर्छ। नेपालका लागि हाल न्यूनतम लक्ष्य भनेको एकविदसीय मान्यता जोगाउने हो। नेपालले अब चार खेल यूएईमा खेलेपछि बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ।

यूएईमा नेपालको खेल तालिकाः
फेबु्रअरी २७, नेपालविरुद्ध पपुवा न्युगिनी
फेबु्रअरी २८, संयुक्त अरब इमिरेट्सविरुद्ध पपुवा न्युगिनी
मार्च २, संयुक्त अरब इमिरेट्सविरुद्ध नेपाल
मार्च ३, नेपालविरुद्ध पपुवा न्युगिनी
मार्च ५, संयुक्त अरब इमिरेट्सविरुद्ध पपुवा न्युगिनी
मार्च ६, संयुक्त अरब इमिरेट्सविरुद्ध नेपाल

प्रकाशित: १३ फागुन २०७९ १२:१७ | Saturday, February 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast