सडक सञ्‍जालसँग जोडिँदै मनाङको विकट क्षेत्र नार्पाभूमि

हिमाल प्रेस १० फागुन २०७९ १९:३१ | Wednesday, February 22, 2023
सडक सञ्‍जालसँग जोडिँदै मनाङको विकट क्षेत्र नार्पाभूमि

मनाङ– मनाङमा सडक विस्तार भएको २० वर्षपछि जिल्लाको विकट क्षेत्रको रूपमा रहेको नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग जोडिने भएको छ। प्रदेश सरकार र पालिकाबाट बजेट छुट्याइएपछि नार्पाभूमिमा सडक सञ्जालको ट्र्याक खोल्न लागिएको हो।

सडक सञ्जालबाट वञ्चित रहेको यस पालिकामा हाल सडक सञ्जाल विस्तारको काम भइरहेको छ। नार्पाभूमिमा सडक सञ्जालका लागि ट्र्याक खोल्न स्थानीय सरकार र प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ।

केही भागमा सडक विस्तारका ट्र्याक खोल्ने काम भएको नार्पाभूमि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश पाख्रिनले जानकारी दिए।

उनका अनुसार सडकको ट्र्याक खोल्नका लागि गण्डकी प्रदेश सरकारबाट ५० लाख र गाउँपालिकाबाट ९० लाख विनियोजन भएको छ। मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा बल्ल मात्रै सडकको ट्र्याक खोल्न लागिएको उनले बताए।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेञ्जिङ लामाले पालिकालाई सडक सञ्जालसँग जोड्ने आफ्नो प्रतिबद्धता पूरा गर्ने लक्ष्यमा पुगेको जनाए। ‘पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाएको थिएँ, यसमा प्रदेश सरकारले सहयोग गर्दा अझ हौसला थपिएको छ,’ अध्यक्ष लामाले भने।

पालिकाको तल्लो क्षेत्रमा सडक सञ्जालको विस्तारका लागि ट्र्याक खोल्ने काम भइरहेको उनको भनाइ छ।

‘यहाँ ट्र्याक खोलेर मात्रै सुरक्षित यात्रा गर्न त पाउने छैनौँ, तर भीरको बाटो छ, जोखिम उत्तिकै रहेको छ, त्यसलाई मध्यनजर गरी यहाँका नदीनालाको जोखिमलाई न्यूनीकरण गर्न पुल निर्माण पनि उत्तिकै आवश्यक रहेको छ,’ उनले भने।

यस पालिकामा ट्र्याक खोलिएसँगै स्थानीयवासीमा खुसी छाएको छ। जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने उनीहरूको आसा छ। मर्स्याङ्दीलगायत साना ठूला नदीमाथि पुल निर्माण गर्न सकिए अझै यस पालिकाको सडक सुरक्षित रूपमा यात्रा गर्न सकिनेछ। -राससको सहयोगमा

प्रकाशित: १० फागुन २०७९ १९:३१ | Wednesday, February 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast