मायादेवी मन्दिरमा राखियो नयाँ प्रविधिको गजुर [तस्बिरहरू]

हिमाल प्रेस ९ फागुन २०७९ १६:०६ | Tuesday, February 21, 2023
मायादेवी मन्दिरमा राखियो नयाँ प्रविधिको गजुर [तस्बिरहरू]

लुम्बिनी- अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीस्थित मायादेवी मन्दिरमा आधुनिक गजुर राखिएको छ। गजुर जीर्ण भएपछि नयाँ प्रविधिअनुसार तयार पारेर स्वयम्भू स्तुपा आकारको गजुर राखिएको हो। थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोंगको आर्थिक सहयोगमा गजुर तयार पारिएको लुम्बिनी विकास कोषले जनाएको छ।

मंगलबार गजुरका दाता मालिनोङ्ग बुद्धजन्मस्थल लुम्बिनीमा आएर बौद्धभिक्षुबाट विधिअनुसार पूजा गरेर गजुर स्थापनालाई औपचारिकता दिइएको छ। यसअघि राखिएको गजुर पूरानो र जीर्ण भएकाले मर्मत गर्ने तयारी गरिरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए।

स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिब ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए। गजुरको बाहिरपट्टीको भागमा सुनको जलप लगाइएको छ। यसअघिको मन्दिरको गजुर पूरानो र जीर्ण भइसकेको थियो। कोषले दातालाई सम्मानसहित धन्यवाद पनि दिएको छ। गजुरसँगै बुद्ध जन्मस्मारक (मार्कन स्टोन) को चाँदीको कभरका लागिसमेत टोलीले सहयोग गरेको छ।

मालिनोङ्ग र लर्टट्रथले भारतको कुशिनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधीवृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्ध धर्मका अभियानता राजा शाक्यले बताए। उनका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन्।

आधुनिक प्रविधिअनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताए। नयाँ गजुर राखेपछि मायादेवी मन्दिर आर्कषक देखिएको छ।

 

प्रकाशित: ९ फागुन २०७९ १६:०६ | Tuesday, February 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast