बुटवल- बुद्धजन्मस्थल लुम्बिनीमा सञ्चालित तीनदिने बृहत्तर लुम्बिनी क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आइतबार सकिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, युनेस्को र विश्व बैंकको संयुक्त आयोजनामा सम्मेलन गरिएको हो।
सरकारी अधिकारी, बौद्ध धर्मगुरु तथा समुदायका प्रतिनिधि, सम्पदाविद्, पर्यटनविद्, विकास साझेदार र स्थानीय जनप्रतिनिधिको सहभागितामा बृहत्तर लुम्बिनी क्षेत्रको पर्यटनसँग सम्बन्धित पूर्वाधार तथा सेवा सुविधाहरूको स्तरोन्नति गर्दै स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसरको प्रवर्धन गर्ने विषयमा छलफल केन्द्रित रह्यो।
सम्मेलनले सम्पदा संरक्षण, सामुदायिक विकास, पर्यावरणीय संरक्षण र स्थानीय जीविकोपार्जनका अवसरलाई एकीकृत गर्ने प्रतिबद्धता गरेको छ। शुक्रबारदेखि विभिन्न चरणमा अन्तर्राष्ट्रिय/राष्ट्रिय सम्पदा विज्ञ तथा सरोकारवाला प्रतिनिधिहरुले छलफलमार्फत विभिन्न सुझाव दिएका छन्।
विश्व बैंकको ८५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ६३ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋणमा सरकारले बृहत्तर लुम्बिनी क्षेत्रका लागि ग्रेटर लुम्बिनी एरिया (ग्लान्ड) आयोजना सुरु गरेको छ।
आयोजना कार्यान्वयनको चरणअघि लुम्बिनीमा विज्ञ, जनप्रतिनिधि र सरोकारवालासँग सम्मेलन गरेर सुझाव संकलन गरेको युनेस्कोले जनाएको छ। सम्मेलनमा लुम्बिनी विकास कोष, तोकिएका समुदाय आधारित संघसंस्थाहरू, विहार/गुम्बा समुदायहरू र सम्बन्धित स्थानीय सरोकारवालासँगको सहकार्यमा नगरपालिकाहरूमार्फत स्थानीय समुदायको सहभागिता समन्वय गर्नुपर्ने सुझाव दिइएको छ।
यसैगरी सम्पदा संरक्षण, सामुदायिक विकास, पर्यावरणीय संरक्षण/संरक्षकत्व र स्थानीय जीविकोपार्जनका अवसरहरूलाई एकीकृत गर्ने, पूर्वाधार वा विकास निर्माणका कार्यहरू स्वीकृत गर्नुअघि गुरुयोजना, भूउपयोग योजना, संरक्षण योजना, जलवैज्ञानिक अध्ययन, ढल निष्कासन/निकासका उपायहरू र पर्यावरणीय न्यूनीकरण योजना तयार गरी कार्यान्वयन गर्नुपर्नेमा छलफलमा जोड दिइएको छ।
त्यस्तै लुम्बिनीस्थित पवित्र उद्यान, मायादेवी मन्दिर, प्राचीन स्मारक तथा पुरातात्त्विक अवशेषहरूको ऐतिहासिक, धार्मिक र आध्यात्मिक मूल्यमान्यताको सम्मान हुने गरी जीर्णोद्धार तथा संरक्षण गर्न समेत सुझाव दिइएको छ।
सम्मेलन समापनका अवसरमा बोल्दै रुपन्देही क्षेत्र न. ५ का प्रतिनिधिसभा सदस्य तौफिक अहमद खानले बृहत्तर लुम्बिनी क्षेत्र परियोजनाले पूर्वाधार विकास, दिगो पर्यटन, वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
उनले लुम्बिनी बुद्ध धर्मावलम्बीसँगै सिंगो मानवको पवित्रस्थल भएकाले यहाँको विकासले स्थानीय समुदायलाई समेत जोड्न सक्नुपर्ने बताए।
समापन समारोहमा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव सौभाग्य प्राधानांगले सम्मेलनबाट प्राप्त भएका सुझावहरु निकै महत्त्वपूर्ण रहेकाले त्यसलाई कार्यान्वयन गर्नतर्फ मन्त्रालयसहित सरोकारवाला सबै पक्षबीच सहकार्य हुने बताइन्।
उनले बृहत्तर परियोजनामार्फत लुम्बिनी र बुद्धसँग जोडिएका बृहत्तर क्षेत्रमा दिगो पर्यटन विकास, सम्पदा संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जनमा सुधारका कामहरु हुने बताइन्।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईले बृहत्तर लुम्बिनी क्षेत्रका विषयमा सम्मेलनले लुम्बिनीको महत्त्वलाई पुनः पुष्टि गरेको बताए। उनले बृहत्तर लुम्बिनी क्षेत्र जीवित सम्पदा स्थल, तीर्थस्थल र आध्यात्मिक थलो भएकाले यसको विकासमा बृहत्तर लुम्बिनी परियोजना सहयोगी बन्ने विश्वास व्यक्त गरे।
नेपालका लागि युनेस्को प्रतिनिधि जाको दु टोइट, विश्व बैंकका प्रतिनिधि वसन्त पौडेल, युनेस्कोका संस्कृति प्रमुख नभा बस्न्यात थापालगायतले बोलेका थिए। सम्मेलनमा स्थानीय तहका प्रमुख तथा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहेको युनेस्को सञ्चार प्रमुख रविन राईले बताए।
बृहत्तर लुम्बिनी क्षेत्रमा बुद्धजन्मस्थल लुम्बिनी, प्राचीन तिलौराकोट दरबार, बुद्धकी आमा मायादेवीको माइतीघर देवदह, बुद्धको अस्थिधातु रहेको रामग्राम तथा देवदह लगायत महत्त्वपूर्ण पुरातात्त्विक तथा धार्मिक स्थल रहेका छन्।
सम्मेलनमा पुरात्त्व विभागका महानिर्देशक सुरेश सुरस श्रेष्ठ, सम्पदा विज्ञ प्रोफेसर रोविन कनिंघम, डा. काई वाइजे, विज्ञहरु कोषप्रसाद आचार्य, राजेन्द्र सुवाल, इना प्रधान सालिके, भिक्षु, लामा गुरुहरुले समेत प्रस्तुति राखेका थिए।



