रिपोर्टमा मात्रै सडक बनाएपछि गाउँपालिकाका इन्जिनियरसहितविरुद्ध मुद्दा

हिमाल प्रेस ८ फागुन २०७९ १६:२९ | Monday, February 20, 2023
रिपोर्टमा मात्रै सडक बनाएपछि गाउँपालिकाका इन्जिनियरसहितविरुद्ध मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनाउँदै नबनाएको सडक बनाएको भन्दै गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको अभियोगमा दैलेख गुराँस गाउँपालिकाका इञ्जिनीयरलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार स्थानीय निगालपानी रेग बगौरा सडक निर्माण योजनाको सम्झौतामा रहेको निर्धारित शर्त र मापदण्डविपरीत नक्कली नापी किताब बनाएको, उपभोक्ता समितिसम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदनसमेत तयार पारी मापदण्डअनुसार सडक निर्माण भएको भनी गलत प्रतिवेदन बनाएको पाइएपछि मुद्दा दायर गरिएको हो।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सो परियोजनामा यसरी अनियमितता गर्नेमा तत्कालीन इञ्जिनीयर सरोजकुमार दाहाल र तत्कालीन सवइञ्जिनीयर नवीनकुमार विसीको संलग्नता रहेको आयोगको ठहर छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ बमोजिम कारवाहीको माग गरिएको छ।

अख्तियारको विज्ञप्ति

दैलेख जिल्ला, गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र सव-इञ्जिनियर नविन कुमार वि.सी.उपर गलत प्रतिवेदन तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६।०७७ मा दैलेख जिल्ला, गुराँस गाउँपालिका वडा नं. ६ स्थित निगालपानी रेग बगौरा सडक निर्माण योजनाको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा दैलेख जिल्ला, गुराँस गाउँपालिकाका तत्कालीन इञ्जिनियर सरोज कुमार दाहाल र तत्कालीन सव-इञ्जिनियर नविन कुमार वि.सी.ले आपसी मिलेमतो गरी “निगालपानी रेग बगौरा सडक निर्माण योजना” सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत झुट्टा नापी किताब, उपभोक्ता समितिसम्बन्धी बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी मापदण्ड अनुसार सडक निर्माण भएको भनी बदनियतपूर्वक वास्तविक भए गरेको कार्य लुकाईछिपाई नभए नगरेको कुरा देखाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम कसूर गरेको देखिँदा निजहरुउपर ऐ. ऐनको दफा १९ उपदफा (२) बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ। 

    
     प्रवक्ता
श्याम प्रसाद भण्डारी

प्रकाशित: ८ फागुन २०७९ १६:२९ | Monday, February 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast