लिस्कको शतकमा स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य

हिमाल प्रेस ५ फागुन २०७९ १२:४३ | Friday, February 17, 2023
लिस्कको शतकमा स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य

काठमाडौँ- माइकल लिस्कले शतक प्रहार गरेपछि स्कटल्यान्डले नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २७४ रन बनायो।

आक्रामक ब्याटिङ गरेको लिस्कले ८५ बल सामना गरेर अविजित १०७ रन जोडे। स्कटल्यान्डका लागि लिस्कले एकदिवसीय खेलमा पहिलो पटक शतक बनाएका हुन्। २४ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर ११० रन बनाएको स्कटल्यान्डलाई लिस्कले विशाल योगफलतिर डोर्‍याएका थिए।

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तगर्तको यो शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई १० विकेटले पन्छाएको स्कटल्यान्डले घरेलु टिमविरुद्ध मध्यम सुरुवात गरेको थियो। ओपनरद्वय क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनले पहिलो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए।

कुशल मल्लको बलमा आउट भएका म्याकब्राइड र बेरिङटनले क्रमशः २२ र १९ रन जोडेका थिए। यी दुईले नामिबियाविरुद्ध ओपनिङ गरेका कायल कोेइटजर र जर्ज मुन्सेको स्थानमा मौका पाएका हुन्।

पाहुना टिमका लागि ज्याक जार्भिसले २६, मार्क वाटले २०, ब्रान्डन म्याकमुलनले २२, टोमस म्याकिनटोसले १९, क्रिस ग्रिभ्सले १६ रनको योगदान गरे।

नेपालका लागि सन्दीप लामिछानेले किफायती बलिङ गरे। २७ रन खर्चिएका पूर्वकप्तान सन्दीपले तीन विकेट हात पारे। नामिबियामाथिको जितमा पनि उनले तीनै विकेट लिएका थिए। नेपालका लागि विकेट लिने अन्य खेलाडीमा कुशल मल्ल, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी रहे। मल्लको नाममा दुई विकेट रह्यो भने बाँकीले एक–एक विकेट हात पारे।

प्रकाशित: ५ फागुन २०७९ १२:४३ | Friday, February 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast