आईजीपीको निर्देशन- बल प्रयोग गर्न नहिच्किचाउनू

हिमाल प्रेस ३ फागुन २०७९ १३:२९
2
SHARE
आईजीपीको निर्देशन- बल प्रयोग गर्न नहिच्किचाउनू

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी)धीरजप्रताप सिंहले प्रहरी कर्मचारी जुनसुकै बेलामा शान्तिसुरक्षा अमनचयनका लागि आवश्यक तयारीमा रहनुपर्ने बताएका छन्।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र मातहतका प्रहरी कार्यालयका प्रमुखहरूलाई आज प्रहरी प्रधान कार्यालयमा निर्देशन दिँदै उनले कुनै पनि अपराधका घटना हुन नदिन प्रहरी कर्मचारीको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे।

प्रहरी महानिरीक्षक सिंहले जिम्मेवारीलाई पूर्ण रूपमा सम्पादन गर्न निर्देशन पनि दिएका छन्। उनले हालैका घटनाको समीक्षा गर्दै सम्भावित घटनाको पूर्वानुमान गरी तयारी अवस्थामा रहन पनि उपत्यकाका प्रहरीहरूलाई निर्देशन दिए।

आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको जनाउँदै प्रहरी महानिरीक्षक सिंहले भने, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पूर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानुनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु।’

उनले घटनालाई गम्भीरताका साथ लिएर संलग्नको पहिचान गरी कानुनी दायरामा ल्याउन प्रहरी चुक्न नहुने बताए।

उनले ट्राफिक जाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शितामा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यावसायिक भएर जिम्मेवारी बहन गर्नुपर्ने बताए। फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्न पनि आग्रह गरे।

प्रकाशित: ३ फागुन २०७९ १३:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 5 =