प्रधानमन्त्री शाहको चीन भ्रमण मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

हिमाल प्रेस १३ मंसिर २०८३ १९:५४ | Sunday, November 29, 2026
प्रधानमन्त्री शाहको चीन भ्रमण मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल परराष्ट्रमन्त्री शिशिर खनाल। फाइल तस्बिर

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भइनसकेको बताएका छन्।

काठमाडौँ क्षेत्र नं. ६ अन्तर्गत टोखा नगरपालिका-१ बौडेश्वर झोरमा आइतबार आयोजित मतदाता भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्रीको चीन भ्रमणको मिति अहिलेसम्म तय नभएको स्पष्ट पारेका हुन्।

प्रधानमन्त्रीको चीन भ्रमणबारे सोधिएको प्रश्नमा उनले भ्रमणको मिति तय भइनसकेको जानकारी दिए।

खनालले भने,‘छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको भ्रमण हुन्छ भन्ने आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुंगो लागिसकेको छैन।’

मन्त्री खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताए। उनले केही दिनभित्रै लगानीसँग सम्बन्धित केही कानुन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिए।

कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण बनाउन कठिन हुने उल्लेख गर्दै उनले उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने बताए।

काठमाडौँ क्षेत्र नं. ६ को विकासका सन्दर्भमा मन्त्री खनालले विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकतामा राखेको बताए। उनले निर्वाचन क्षेत्रको विकासका लागि आफू निरन्तर लागिपरेको पनि उल्लेख गरे।

प्रकाशित: १३ मंसिर २०८३ १९:५४ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast