शिक्षकलाई निर्वाचन, राजनीतिक नियुक्तिमा अवसर दिनुपर्छ : प्रचण्ड

हिमाल प्रेस १३ मंसिर २०८३ १८:१५ | Sunday, November 29, 2026
2
SHARE
शिक्षकलाई निर्वाचन, राजनीतिक नियुक्तिमा अवसर दिनुपर्छ : प्रचण्ड

चितवन- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकको अनुभव, क्षमता र योगदानलाई कदर गर्दै राजनीतिक तथा राष्ट्रिय जिम्मेवारीमा प्राथमिकता दिनुपर्ने बताएका छन्।

नेपाल शिक्षक संगठनको दशौँ एकता जिल्ला अधिवेशनको आइतबार चितवनमा उद्घाटन गर्दै उनले शिक्षकको ज्ञान, अनुभव र क्षमतालाई राज्यले उपयोग गर्नुपर्ने बताए। उनले योग्य र इमानदार शिक्षकलाई निर्वाचन, राजनीतिक नियुक्ति तथा राष्ट्रिय जिम्मेवारीमा अवसर दिनुपर्ने धारणा राखे।

आफ्नो शिक्षण जीवन चितवनबाट सुरु भएको स्मरण गर्दै संयोजक दाहालले नवलपरासीको त्रिभुवनटार र गोरखाको आरुघाटमा अध्यापन गरेको बताए।

आरुघाटमा अध्यापनका क्रममा जिल्लाभरिकै उत्कृष्ट शिक्षकका रूपमा सम्मानित भएपछि आफ्नो राजनीतिक विचार र परिचय स्थापित गर्न सहयोग पुगेको उनको भनाइ थियो।

शिक्षक जीवनका अनुभवले शिक्षा क्षेत्रका समस्या, शिक्षकको जिम्मेवारी र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको भूमिका बुझ्न सहयोग पुगेको उनले बताए।

यही अनुभवका आधारमा प्रधानमन्त्रीका रूपमा तीनवटै कार्यकालमा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकता दिएको उनको भनाइ थियो।

शिक्षक, प्राध्यापक तथा कर्मचारीको ज्ञान, अनुभव, इमानदारिता र क्षमतालाई देशको विकास तथा नीतिनिर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले जनतामाझ लोकप्रिय र इमानदार शिक्षकलाई निर्वाचन तथा अन्य राजनीतिक गतिविधिमा प्राथमिकता दिनुपर्ने बताए।

‘आफ्नो इमानदारिता, निष्ठा र सक्रियताका कारण जनतामाझ लोकप्रिय भएका शिक्षक साथीलाई निर्वाचन तथा अन्य क्रियाकलापमा प्राथमिकता दिनुपर्छ भनेर मैले सबैतिर भन्दै आएको छु’, उनले भने।

उनले शिक्षकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भूमिकामा अवसर दिनुपर्ने उल्लेख गर्दै चितवनका वरिष्ठ शिक्षकलाई राष्ट्रिय तथा राजनीतिक जिम्मेवारी लिन तयार रहन आग्रह गरे। शिक्षकको अनुभव र क्षमताले देशको नेतृत्व तथा नीतिनिर्माणमा महत्वपूर्ण योगदान पुर्याउनसक्ने उनको विश्वास थियो।

शिक्षकलाई आफ्नो अनुभव र क्षमताको सदुपयोग गर्दै सामाजिक तथा राष्ट्रिय भूमिकामा अघि बढ्न आग्रह गर्दै उनले त्यसका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: १३ मंसिर २०८३ १८:१५ | Sunday, November 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast