तस्बिर : एफपी
काठमाडौँ- सेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगले आइतबारदेखि दुईदिने देशव्यापी बन्द आह्वान गरेको छ।
बन्दका क्रममा विशेषगरी दक्षिणी क्षेत्रका विभिन्न स्थानमा सडक अवरुद्ध गर्ने र आगजनीका घटना भएका छन्।
सरकारले दक्षिणी जिल्लामा थप प्रहरी परिचालन गर्नुका साथै सीमा सुरक्षा बल बंगलादेश (बीजीबी) का १२० प्लाटुन देशभर खटाएको छ।
बीजीबीका अनुसार फरिदपुरको नौदोबा–भाङ्गा–भाटियापारा राजमार्गमा रुख ढालेर सडक अवरुद्ध गरिएको थियो। अवरोध हटाई सवारी आवागमन सञ्चालन गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ।
हसिनाको गृहजिल्ला गोपालगञ्ज अवामी लिगको प्रभाव क्षेत्र हो। देशका अन्य भागमा पार्टीका कार्यक्रमको प्रभाव कम देखिए पनि त्यहाँ समर्थकहरूले विभिन्न गतिविधि गर्दै प्रदर्शन गरिरहेका छन्।
हसिनाले सन् २०२६ डिसेम्बर १६ मा बंगलादेश फर्किने घोषणा गरेकी छन्। तर, मृत्युदण्डको सजाय पाइसकेकी उनलाई यात्रा कागजात वा राहदानी उपलब्ध नगराइने सरकारले जनाएको छ।
ढाकाले सुपुर्दगी सन्धिअन्तर्गत उनलाई हतकडी लगाएर फिर्ता पठाउन भारतसँग औपचारिक अनुरोध गरेको छ। भारतले भने सुपुर्दगी र यात्रा कागजातसहित स्वदेश फर्किने विषय फरक रहेको जनाएको छ।
स्वदेश फर्किने हसिनाको घोषणाले बंगलादेशमा राजनीतिक तनाव र सुरक्षा चिन्ता बढाएको छ। सन् २०२४ मा विद्यार्थी आन्दोलनबाट सरकार ढलेपछि उनी भारत गएकी थिइन्।
सन् २०२६ फेब्रुअरी १२ मा भएको निर्वाचनबाट बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सत्तामा आएको थियो।
यसैबीच बंगलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ।
पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका छन्।
पक्राउ पर्नेमा इस्लामकी पत्नी सायला फारजाना र उनका दुई भाइमध्ये रेजाउल आलम शाहिन पनि छन्।
फारजाना सार्वजनिक प्रशासन मन्त्रालयकी पूर्वअतिरिक्त सचिव हुन्।
प्रहरी स्रोतका अनुसार गुप्तचर टोलीले राजधानीका मिरपुर डीओएचएस र राकिन सिटीमा आइतबार बिहान एकैसाथ छापा मारेको थियो। फरार श्रीमानको निर्देशनमा फारजानाले हिंसा तथा तोडफोडको योजना बनाउन भूमिका खेलेको प्रहरीको आरोप छ।
कारबाहीका क्रममा एक सालाकी पत्नीलाई पनि केही समय नियन्त्रणमा लिइएको थियो। तर स्तनपान गराइरहेको शिशु भएकाले उनलाई पछि रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
बंगलादेश निजामती सेवाको १७औँ समूहकी प्रशासनिक अधिकारी फारजानालाई सन् २०२४ सेप्टेम्बर ८ मा विशेष जिम्मेवारीमा राखिएको थियो।
उनका श्रीमान् इस्लामलाई भने सोही वर्षको जुलाईमा भएको जनविद्रोहपछि अनिवार्य अवकाश दिइएको थियो। त्यसयता उनी फरार रहँदै आएका छन्।



