राहत शिक्षक र बालविकास सहजकर्ता सामाजिक सुरक्षा कोषमा समेटिँदै

हिमाल प्रेस १२ मंसिर २०८३ ८:३३ | Saturday, November 28, 2026
राहत शिक्षक र बालविकास सहजकर्ता सामाजिक सुरक्षा कोषमा समेटिँदै शिक्षक। फाइल तस्बिर।

काठमाडौँ- सरकारले राहत तथा अस्थायी शिक्षक, बालविकास सहजकर्ता र करार कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाउने भएको छ। सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने योजनाअन्तर्गत सरकारले शिक्षा क्षेत्रका कर्मचारीलाई समेत सामाजिक सुरक्षा प्रणालीमा समेट्न लागेको हो।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षामन्त्री सीता बादीले नवौँ सामाजिक सुरक्षा दिवस, २०८३ का अवसरमा आयोजित कार्यक्रममा बोल्दै सङ्घीय सरकारका करार कर्मचारी, राहत तथा अस्थायी शिक्षक र बालविकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया सुरु गरिएको बताइन्।

उनका अनुसार चालु आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा कोष खर्च शीर्षकअन्तर्गत विनियोजित एक अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट उनीहरूलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउने काम अघि बढाइएको छ।

शिक्षक तथा बालविकास सहजकर्तालाई सामाजिक सुरक्षाको दायरामा ल्याउने सरकारी तयारीले लामो समयदेखि अस्थायी, राहत र करार सेवामा कार्यरत जनशक्तिको सामाजिक संरक्षणको विषयलाई प्राथमिकतामा ल्याएको छ।

त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन संघीय सरकारले सह-योगदान गर्ने व्यवस्था अघि बढाएको मन्त्री बादीले बताइन्। स्थानीय तहको सहयोगदानसहित कोषमा आबद्ध हुने श्रमिकका लागि हाललाई एक प्रतिशत बराबरको सह-योगदान सङ्घीय सरकारले जम्मा गरिदिने व्यवस्था तयार गरिएको उनको भनाइ छ।

सरकारले सामाजिक सुरक्षाको दायरा श्रमिकमा मात्र सीमित नराखी प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदहरूलाई समेत कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ। उच्च पदाधिकारीदेखि आधारभूत तहमा श्रम गर्ने नागरिकसम्मलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको लक्ष्य रहेको मन्त्री बादीले बताइन्।

उनले सामाजिक सुरक्षा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न निकाय तथा क्षेत्रमा छरिएर रहेका कल्याणकारी कोष र सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई एकीकृत तथा समन्वय गर्नुपर्ने आवश्यकता औँल्याइन्। सेवा प्रवाहलाई योगदानकर्तामैत्री, पारदर्शी, सरल र प्रभावकारी बनाउनुका साथै कोषको संस्थागत क्षमता विकास सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी

सामाजिक सुरक्षा प्रणालीको दिगोपनका लागि सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय संयन्त्रलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै मन्त्री बादीले नीति निर्माणदेखि कार्यान्वयनसम्म तीनै पक्षको अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताइन्। कोषको सञ्चालक समितिलाई थप सक्षम र प्रतिनिधिमूलक बनाउँदै वास्तविक श्रमिक तथा रोजगारदाताको प्रतिनिधित्व सुनिश्चित गर्ने काम अघि बढाइएको उनले जानकारी दिइन्।

सामाजिक सुरक्षालाई रोजगारदातामाथिको अतिरिक्त आर्थिक भारका रूपमा नभई श्रमिकको क्षमता, उत्पादकत्व, श्रमको सम्मान र संस्थागत स्थायित्वमा गरिने लगानीका रूपमा बुझ्नुपर्ने मन्त्री बादीको धारणा छ। सुरक्षित श्रमिकले आत्मविश्वासका साथ काम गर्न सक्ने र त्यसले उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने उनले बताइन्।

हाल सामाजिक सुरक्षा कोषमा ३३ लाखभन्दा बढी योगदानकर्ता र करिब २४ हजार रोजगारदाता सूचीकृत भएका छन्। कोषमा एक खर्ब ३३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी योगदान रकम संकलन भएको छ भने २३ अर्ब २६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी भइसकेको छ।

नेपालको संविधानले सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्री बादीले योगदानमा आधारित र गैरयोगदानमूलक सामाजिक सुरक्षा प्रणालीलाई एकअर्काका पूरकका रूपमा विकास गर्नुपर्ने बताइन्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालबालिकालगायत लक्षित समूहलाई गैरयोगदानमूलक सामाजिक सुरक्षामार्फत र रोजगारी तथा योगदान गर्न सक्ने नागरिकलाई योगदानमा आधारित प्रणालीमार्फत संरक्षण गर्ने सरकारको नीति रहेको उनले स्पष्ट पारिन्।

सामाजिक सुरक्षा कोषमा संकलित रकमलाई सुरक्षित र प्रतिफलयुक्त क्षेत्रमा लगानी गरी कोषको दीर्घकालीन वित्तीय दिगोपन सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले कोषलाई सबै श्रमजीवी नागरिकको अधिकार, संरक्षण र सुरक्षित भविष्यको भरोसायोग्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: १२ मंसिर २०८३ ८:३३ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast