सातै प्रदेशका सुझाव समेटेर शिक्षा ऐनलाई पूर्णता दिने शिक्षामन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १२ मंसिर २०८३ ७:०२ | Saturday, November 28, 2026
सातै प्रदेशका सुझाव समेटेर शिक्षा ऐनलाई पूर्णता दिने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौँ- शिक्षा ऐन निर्माण प्रक्रियामा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी तथा अन्य सरोकारवालाका सुझाव समेट्न शिक्षा मन्त्रालयले सातै प्रदेशमा सञ्चालन गरेको ‘शिक्षा संवाद’बाट प्राप्त सुझाव प्रतिवेदन सरकारलाई बुझाइएको छ। शिक्षामन्त्री सस्मित पोखरेलले प्राप्त सुझावलाई शिक्षा ऐनको मस्यौदामा समेट्ने प्रतिबद्धता जनाएका छन्।

शिक्षा मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक संघ नेपालको सहजीकरणमा सातै प्रदेशमा सञ्चालन गरिएको संवादमा शिक्षक, प्रधानाध्यापक, विद्यार्थी, कर्मचारी तथा प्रदेश र स्थानीय तहका प्रतिनिधिसँग छलफल गरी शिक्षा क्षेत्रका समस्या, माग र सुधारका विषयमा सुझाव संकलन गरिएको थियो। उक्त सुझाव समेटिएको प्रतिवेदन शुक्रबार मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको हो।

प्रतिवेदन बुझ्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणमा सरोकारवालाको आवाजलाई प्राथमिकता दिइएको बताए। प्रारम्भिक मस्यौदा तयार भइसकेपछि शिक्षक, प्रधानाध्यापक र विद्यार्थीसँग छलफल गर्दा केही विषय छुटेको महसुस भएकाले थप संवाद अघि बढाइएको उनको भनाइ छ।

‘सरोकारवालाको आवाज सुनेर कानुन बनाउनुपर्छ भनेर यसलाई प्राथमिकतामा राखेका हौँ। सिंहदरबारको कोठामा बसेर भन्दा पनि धरातलमै पुगेर बुझेर कानुन बनाउनुपर्छ भन्ने हाम्रो बुझाइ हो,’ मन्त्री पोखरेलले भने।

सातै प्रदेशबाट प्राप्त सुझावका आधारमा शिक्षा ऐनको मस्यौदालाई थप परिमार्जन गरी पूर्णता दिने मन्त्रालयको तयारी छ। ऐनको मस्यौदा तयार गर्न मन्त्री पोखरेलका सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा समिति गठन गरिएको छ।

प्रधानाध्यापक संघ नेपालका अध्यक्ष सुदाम गौतमले संवादबाट प्राप्त सुझाव प्रतिवेदनमा सरोकारवालाका माग र समस्या मात्र नभई तिनको पृष्ठभूमि, सरकारसँग भएका सम्झौता, कार्यान्वयनमा देखिएका अवरोध र समाधानका उपायसमेत समेटिएको जानकारी दिए।

उनका अनुसार शिक्षक तथा कर्मचारीका मागलाई संविधान संशोधन, ऐन, नियमावली, मन्त्रिपरिषद् निर्णय तथा मन्त्री वा सचिवस्तरीय निर्णयबाट सम्बोधन गर्न सकिने गरी वर्गीकरण गर्ने प्रयास गरिएको छ। माग सम्बोधन गर्न आवश्यक आर्थिक स्रोत, लागत अनुमान तथा खर्च नलाग्ने विषयसमेत प्रतिवेदनमा उल्लेख गरिएको छ।

गौतमले शिक्षक तथा कर्मचारीका माग मन्त्रालयसम्म पुर्‍याउने काम आफूहरूले पुलका रूपमा गरेको भन्दै अब ती विषय सम्बोधन गर्ने जिम्मेवारी मन्त्रालयको रहेको बताए। शिक्षक कर्मचारीका मुद्दा समाधानका लागि मन्त्रालयलाई निरन्तर खबरदारी गरिने उनको भनाइ छ।

उनले शिक्षक तथा कर्मचारीका आत्मसम्मान, पेशागत प्रतिष्ठा र स्वाभिमानसँग जोडिएका विषयलाई शिक्षा मन्त्रालयले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। पैसा नलाग्ने तथा मन्त्री, सचिवस्तरीय निर्णय वा नियमावलीबाट समाधान गर्न सकिने विषयलाई शिक्षा ऐन पर्खेर नराख्न आग्रह गर्दै त्यस्ता विषय सम्बोधन भए शिक्षक कर्मचारीका धेरै समस्या समाधान हुने उनले बताए।

शैक्षिक सत्रभित्रै तत्काल समाधान गर्न सकिने समस्या सम्बोधन गरी बाँकी विषय क्रमशः समाधान गर्दै शिक्षक कर्मचारीको विश्वास जित्नुपर्ने र उनीहरूलाई सिकाइ सुधार अभियानमा उत्साहित रूपमा सहभागी गराउने वातावरण बनाउनुपर्ने गौतमको सुझाव छ।

शिक्षा संवाद कार्यक्रममा सहभागी तथा सहजीकरण गर्ने मन्त्रालय, प्रधानाध्यापक संघ नेपाल, शिक्षाविद्, मन्त्रीका सल्लाहकार, मन्त्रालयका अधिकारी र सञ्चारकर्मीसहित सबैप्रति गौतमले आभार व्यक्त गरेका छन्।

प्रकाशित: १२ मंसिर २०८३ ७:०२ | Saturday, November 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast