साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु

हिमाल प्रेस ११ मंसिर २०८३ १९:२६ | Friday, November 27, 2026
साउदी आक्रमणमा यमनमा ११ जनाको मृत्यु फाइल तस्बिर : एपी

काठमाडौँ- यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको हुथी सञ्चारमाध्यमले जनाएको छ।

हुथी समूहको समाचार एजेन्सी सबाका अनुसार शुक्रबार ताइज प्रान्तको अल–तुर्बा सहरस्थित एक आवासीय भवनलाई लक्षित गरी साउदी युद्धविमानले आक्रमण गरेको थियो।

स्थानीय स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सीले आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

यसैबीच, साउदी सेनाले हुथी समूहको प्रभाव क्षेत्र मानिने सादा क्षेत्रमा इन्धन भण्डारण केन्द्रलाई पनि निशाना बनाएको समाचारमा उल्लेख छ।

यसअघि बिहीबार हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको जाजान तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका थिए।

साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार उक्त आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए।

आक्रमणपछि लागेको आगलागीका कारण तेल प्रशोधन केन्द्रको सञ्चालनसमेत बन्द गर्नुपरेको साउदी अधिकारीहरूले बताएका छन्।

यमनमा पछिल्लो समय पुनः युद्ध चर्किएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनले हुथी समूहको नियन्त्रणमा रहेका क्षेत्रमा नियमित हवाई आक्रमण गर्दै आएको छ।

त्यसको जवाफमा हुथी समूहले साउदी अरबका तेल तथा ऊर्जा केन्द्र, विमानस्थल र राजधानी रियादको वित्तीय क्षेत्रमा समेत आक्रमण गर्दै आएको छ।

सन् २०१५ मा राजधानी सानाबाट हटाइएपछि यमनी सरकार दक्षिणी सहर अदनमा आश्रय लिएर बसेको छ।

पछिल्लो समय हुथी लडाकुहरू अदनतर्फ अघि बढिरहेको समाचारमा उल्लेख छ।

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा पुनः द्वन्द्व सुरु भएयता दुई हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने तीन लाख ६४ हजारभन्दा बढी विस्थापित भएका छन्।

त्यस्तै, साउदी अरबका अधिकारीहरूका अनुसार हुथी समूहका आक्रमणमा साउदी अरबभित्र २७ जनाको मृत्यु भएको छ।

यमनको द्वन्द्वले लालसागरस्थित रणनीतिक जलमार्ग बाब अल–मन्देब क्षेत्रमा समेत सुरक्षा चुनौती बढाएको छ।

प्रकाशित: ११ मंसिर २०८३ १९:२६ | Friday, November 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast